धरान /  धरानस्थित बिपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठान हाडजोनी विभागमा भएको विवादका विषयमा नेपाल मेडिकल काउन्सिलले जानकारी लिएको छ । 

हाडजोनी विशेषज्ञ कन्सन्टेन्ट डा.रोशनप्रसाद साह कलवार, विभागीय प्रमुख विशेषज्ञ प्राडा विक्रमप्रसाद श्रेष्ठलगायतका विभागमा भएको विवादको विषयमा अध्ययन गर्न काउन्सिलले डा. हरिहर वस्तीको नेतृत्वमा तीन सदस्यीय टोली प्रतिष्ठान पठाएको थियो । अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले आवश्यक छानविन गर्न काउन्सिललाई पत्र पठाए पछि काउन्सिलको टोली प्रतिष्ठान आएको थियो । 

 अमेरिकन कम्पनि साइनले  निःशुल्क दिएको नेल बिरामीलाई बिक्री गरेको भन्ने विषय समाचार आएको थियो । सो समाचार पछि विभागमा आर्थिक चलखेल हुने गरेको र प्रायः चिकित्सकहरु त्यसमा मुछिएका विषय बाहिरिएका थिए । विवादले उग्ररुप लिदैं गर्दा गत पुस २९ गते अर्का एक विरामीको अप्रेशन गर्ने क्रममा डा.कलवारसँग अन्य डाक्टरको विवाद भएको थियो । कलवारले साइन कमपनिको नेल लगाइसकेको पनि विभागीय प्रमुखको निर्देशनमा डा. अमित लिम्बु, डा. अमितकुमार साहलगायले अर्को नेल परिवर्तनसम्मको काम भएको घट्ना बाहिर आएको थियो । चर्को  विवादले बिहान ९ बजे अप्रेशन थिएटरमा लगिएको विरामी बेलुकी ५ बजे मात्र निकालिएको थियो । यो विषय विमारीका आफन्तले प्रहरीसम्म पुर्याए पछि विवाद झन बढेर गएको थियो । डा. कलवारले लामो विज्ञप्ति जारी गरि घट्नाको अनुसन्धान गर्न आग्रह गर्नु भएको थियो ।

डा. कलवारले विभागीय प्रमुख प्राडा.बिक्रमप्रसाद श्रेष्ठको निर्देशनमा अप्रेशन थिएटरमा आफुलाई रोकिएको र विरामीको ज्यान जोखिम बनाएको भन्दै सामाजिक सञ्जालमार्फत आरोप लगाउनु भएको थियो । उहाँले हालसम्म निरन्तर विभागीय प्रमुख प्राडा.श्रेष्ठलाई आक्षेप लगाउदै खुल्ला बहस गर्न चुनौती दिदैं आउनु भएको छ । हार्डजोर्नी विभागमा विमारीलाई नठग्ने चिकित्सक कोही छैन् भन्ने खालको आसयको पोष्ट डा. कलवारले सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । यता धरानका नागरिक अगुवाहरुले भने स्थानीय चिकित्सक प्राडा श्रेष्ठको चरित्र हत्या गर्न खोजेको भन्दैं आपत्ति जनाउदैं आएका छन् ।  

डा. कलवारको विषयमा समाचार बाहिर आए पछि हार्डजोर्नी विभागमा औषधी व्यवसायीहरुसँगको मिलेमतोमा औषधी, इनप्लान्टका समानलगायतमा विरामीबाट चर्को रुपमारकम असुली गदैं आएको कुरा बाहिर आएका थिए । डा. कलवारले विभागका चिकित्सक यसमामिलामा कोही पनि अछुतो नभएको भन्दैं सामाजिक सञ्जालमा दैनिक लेख्दैं आउनु भएको थियो । उहाँले सामाजिक सञ्जालबाटै विभागीय प्रमुखलाई खुल्ला चुनौती समेत दिनु भएको थियो । 

प्रतिष्ठानको हार्डजार्नी विभागमा चिकित्सकहरुको विवाद उत्कर्षमा पुगे पछि छानबिन गर्न काउन्सिलको टोली प्रतिष्ठान आएको हो । डा.हरिहर वस्तीको नेतृत्वमा शुक्रबार विज्ञसहितको ३ सदस्यीय टोलीले सरोकारवालाहरुसँग जानकारी लिएर शनिवार नै काठमाण्डौं फर्किएको छ ।  

‘विभागका चिकित्सकले निशुल्क आएको नेल विक्रि गरेको र एउटा समान लगाएको फेरी अर्को सामान लगाएको भन्ने गम्भीर विषय आए पछि काउन्सिलले अध्ययन गरेको हो । घटनाबारे सबै विवरण र वयान लिएका छौं ।’–डा. वस्तीले भन्नु भयो ।

घटनाबारे सम्बन्धित व्यक्तिहरुको वयान लिइएर आवश्यक कागजपत्र पनि लिइएको डा. वस्तीले बताउनु भयो । बयान र कागजपत्र अध्ययन गरि एक साता भित्र प्रतिवेदन काउन्सिललाई बुझाइने डा. वस्तीले जानकारी दिनु भयो ।