धरान / भोगचलन नै गरेको नक्कली मोही खडा गरेर महेन्द्र बहुमुखी क्याम्पसको जग्गा हडप्ने खोज्ने भू–माफिया विरुद्ध नागरिक आन्दोलन सुरु हुने भएको छ । 

पूर्व नगर प्रमुख तथा पूर्व क्याम्पस प्रमुख कुमारबहादुर कार्कीको संयोजकत्वमा गठित नागरिक तहको जग्गा बचाउ समितिले सोमबार पत्रकार सम्मेलन गरि नागरिक आन्दोलन गर्ने जनाएको हो । 

तीन वर्ष अघि देखी चर्केको नक्कली मोही काण्डमा क्याम्पसले भूमिसुधार मालपोत कार्यालय सुनसरी विरुद्ध कानुनी लडाई गर्न पुनरावेदन अदालतमा मुद्दा दायर पनि गरिसकेको छ । क्याम्पसको जग्गा बचाउन विद्यार्थी सङ्गठनहरूले छुट्टै आन्दोलन गर्दै आएका छन् । 

ओमिक्रोन भेरियन्टको जोखिम बढेकाले सामाजिक दुरी, स्वास्थ्य मापदण्ड कायम गदै समितिले ५ गते बुधवार प्लेकार्ड सहित मौन जुलुसको आयोजना गर्ने जनाएको छ । छाता चौकबाट भानुचौक पुगी उभिएर धर्ना दिन सबैलाई आग्रह पनि गरेको छ ।

२०३४ सालमा क्याम्पसले खरिद गरेको पानी ट्याङी चौक धरान–११ स्थित १७ कट्ठा, १८ धुर जग्गामा ४१ वर्षपछि २०७५ मा आएर एकाएक नक्कली मोही खडा गरी भू–माफियाको गिरोहले क्याम्पसको जग्गा हडप्ने दुष्प्रयास गरिएको पत्रकार सम्मेलनमा संयोजक कार्कीले  बताउनु भयो । 

क्याम्पसको जग्गामा कहिल्यै पाइला नटेकेको, प्रमाण पुष्टि नभएको अज्ञात व्यक्तिलाई मोही खडा गरेर भू–माफिया जग्गा दलालका गिरोहले पवित्र शैक्षिक संस्थाको सम्पत्ति माथि कुदृष्टि गाडेको जारी विज्ञप्तिमा भनिएको छ । 

मोही भनिएका डम्बरबहादुर घिमिरेको जग्गा खरिद गरेको २२ वर्षपछि २०५६ सालमा मृत्यु भैसकेको छ । उनको श्रीमतीको पनि २०६४ सालमा मृत्यु भैसकेको छ । मोही भनिएका व्यक्ति जीवित हुँदा कुनै किसिमको हक दाबी नभएको, भोग चलन समेत नभएको अवस्थामा मृत्यु भएको १९ वर्षपछि डम्बरबहादुरका हकवालाका रूपमा दाबी गर्ने यज्ञबहादुर क्षेत्री अघि सारिएको छ । उनी प्रायोजित पात्र भएको विज्ञप्तिमा भनिएको छ ।