भक्तपुर /  नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र)सँग छिट्टै पार्टी एकता गर्नका लागि दुईवटा कार्यदल बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । साेमबार राती बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उनकै अध्यक्षतामा बसेको पार्टीे स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो ।
बैठकले दुई वटै पार्टी एकताको प्रक्रिया सकारात्मक रहेको ठहर गरेको जानकारी दिँदै पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, “पार्टी एकताका लागि दुई वटा कार्यदल बनाएर अगाडि बढ्ने टुङ्गोमा पुगेको छ ।”
सचिव भट्टराईले पार्टीको विचार धारा र सैद्धान्तिक पक्षको बीचमा सहमति निर्माण गर्न एउटा कार्यदल र संगठनात्मक कामको संयोजन एवं व्यवस्थापन गर्न अर्को कार्यदल बनाउने निर्णय भएको छ भने ।
एक दुई दिनभित्रै बस्ने पार्टी एकता संयोजन समितिको बैठकले यसको टुङ्गो लगाउने जानकारी दिँदै उहाँले यसका लागि आवश्यक गृहकार्य गरी आ–आफ्नो पार्टीको बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकमा एमाले र माओवादी केन्द्र्रको पार्टी एकताबारे छलफल भएको जानकारी दिँदै उनले भने, “यसअघि दुई पार्टीका अध्यक्ष र पार्टी एकता संयोजन समितिको बैठकमा भएका छलफलकाबारेमा अध्यक्ष ओलीले जानकारी गराए ।” साथै कार्यदलले प्रस्तुत गरेको राष्ट्रियसभामा एमाले र माओवादी केन्द्रको सिट बाँडफाँडलाई अनुमोदन गर्ने निर्णय गरेको छ । त्यसैगरी नवराज सिलवाल प्रकरणमा सरकार र प्रहरीले गरेको कार्यलाई गलत हर्कत भएको भन्दै बैठकले त्यसको भत्र्सना गरेको छ । सचिव याेगेश भट्टराईले भने, “समय आएपछि न्यायिक जवाफ दिन तयारी अवस्थामा सिलवाल रहेको बेलामा सरकारले यसलाई अन्तर्राष्ट्रियकरण गर्दै इन्टरपोलमा लाने विषय बनाएर बढाइचढाइ गरेको छ, यसको बैठकले भत्र्सना गरेको छ ।”