धरान / धरान उत्सव २०७८ को अवसरमा धरान नगरपालिका र नगर पञ्चायतको नेतृत्व गरेका दिवंगत प्रमुख, सामाजिक संघ संस्था, खेलकुद संस्था र स्वास्थ्यकर्मीलाई सम्मान आज गरिएको छ । 

जनप्रतिनिधि स्व. केदारनाथ खनाल, स्व. सूर्यप्रसाद उपाध्याय, स्व. कृष्णप्रसाद श्रेष्ठ, स्व. गोबिन्द मोक्तान, स्व. इन्द्रप्रसाद श्रेष्ठ तथा स्व. ध्यानबहादुर राई, स्व. तारा सुब्बाको सम्मान गरिएको हो । उनीहरुको परिवारका सदस्यहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मरणोपरान्त सम्मान पत्र प्रदान गर्नु भयो । 

 यसैगरी, फुटबल खेलमार्फत धरानलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने दुई संस्था धरान फुटबल क्लब र गोधुली क्लबलाई पनि सम्मान गरिएको छ ।

यसैगरी कोभिड १९ को बेला अहोरात्र रुपमा खटिएकी स्वास्थ्यकर्मी चन्द्रकला राई र लुना अधिकारीलाई सम्मान गरिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानका डेपुटी डाइरेक्टर डा. विकास साहलाई पनि कोभिडको महामारीमा कोभिड रेस्पोन्स टिमको संयोजक रहि महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको छ । उहाँ कोभिड महामारीको बेला फोकल परसनको रुपमा अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । धरानलाई देश तथा विदेशमा चिनाउनका लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै धरान रन समूहलाई पनि सम्मान गरिएको छ । त्यस्तै, सेवक अभियान र होप धरानलाई पनि सम्मान गरिएको छ ।