भेडेटार  / प्रदेश नम्बर १ को पर्यटकीय गन्तव्य भेडेटारमा शुक्रबाररदेखि तीन दिने फुट फेस्टिवल शुरु भएको छ । भौतिक योजना तथा पूर्वाधार मन्त्री हिमाल कार्कीले फेस्टिभलको उद्घाटन गर्नु भयो । 

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका मन्त्री कार्कीले वर्तमान सरकार कम बोल्ने र बोलेको कुरा लागु गर्ने पक्षमा रहेकाले अहिलेनै धेरै बोल्नु भन्दा पर्यटन र भेडेटारको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनु भयो । 

भेडेटार पूर्वको मात्र नभई नेपालकै पर्यटकीय गन्तव्य भएकाले यसको पुर्वाधारमा सबै तहका सरकारले योगदान गर्नुपर्ने उहाँले बताउनु भयो । कार्यक्रममा साँगुरीगढी गाँउपालिकाका अध्यक्ष कुमारजंग याक्खाले भेडेटारको पर्यटन विकासमा लगानी गर्न चाहनेहरुका लागि गाँउपालिकाले नीतिगत रुपमै नियम कानून बनाएर सहजिकरण गरिरहेको बताउनुभयो । 

पर्यटन वोर्डका सदस्य कृष्ण शाहले भेडेटार प्रदेश १ कै उत्कृष्ठ पर्यटकिय स्थलका रुपमा स्थापित भएकाले यसको विकासमा बोर्ड सदैव सकरात्म भएको बताउनु भयो । ।

विगत १९ बर्षदेखि अँग्रेजी नयाँ बर्षको अवसरमा आयोजना हुने भेडेटार फुड फेस्टिवलको नवौँ सस्करण शुक्रबारबाट सुरु गरिएको हो ।

पूर्वी पहाडी जिल्लाको प्रवेश स्थल मुल सडक खण्डमै उत्सवआयोजना गरिएको छ ।  फेष्टिभलमाविभिन्न जातीय परिकार, मनोरञ्जनात्मक कार्यक्रम राखिएको आयोजक संस्था होटल एसोसिएसन भेडेटारका अध्यक्ष तथा कार्यक्रमका सभापति जितेन्द्र रुम्दाली राइले जानकारी दिनु भयो ।

तीन दिनसम्म हुने फेष्टिवलमा विभिन्न जात जातिका खाद्य परिकारका स्टलहरू, अर्ग्यानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनका स्टलहरू गरी १५ वटा स्टलहरू रहेका छन् । फेष्टिवलको उद्घाटनमा विभिन्न जातिको झाँकी प्रस्तुत गरिएको थियो । फेष्टिवल उद्घाटनको अवसरमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।

फेष्टिबलको अवधिमा भेडेटार धरान प्याराग्लाइडिङ, मुलघाट(चतरा र्याप्टीङ, नमस्ते झरनामा पानीबाट डोरी टाँगेर झर्ने क्यानोनोइङ, साइक्लिङ, ध्वजेडाँडाबाट सूर्योदय हेर्ने प्याकेज, राजारानी तालमा बोटिङ जस्ता पर्यटकीय गतिविधिहरू सञ्चालन हुनेछन् भने डाँडा बजारमा रहेको ठुलो अजंगको रुख हेर्ने अवसर, स्थानीय जातिको खानेकुराको प्रदर्शनी, कृषिसँग सम्बन्धित उत्पादित वस्तुको प्रदर्शनी तथा व्यापार हुने आयोजकले जनाएको छ ।

फेष्टिवलमा करिब ३० हजार पर्यटकहरू सहभागी हुने आयोजकको अनुमान छ । करिब १९ लाख खर्च हुने अनुमान गरिएको फेष्टिवलको अवधिमा भेडेटारमा करिब एक करोडको कारोबार हुने आयोजकको अपेक्षा छ ।