इटहरी ÷ नेपाल कम्युनिष्ट पार्टी -एमाले_ सुनसरीको सातौँ जिल्ला अधिवेशन पौष २३ र २४ गते हुने भएको छ । पार्टी प्रचारप्रसार उपसमितिले आज इटहरीको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । जिल्ला सदरमुकाम इनरुवास्थित जेल फिल्ड -खेलमैदान_ मा हुने अधिवेशनमा २ हजार प्रतिनिधि सहभागी हुने छन् । अधिवेशनमा जिल्ला कमिटीको आगामी कार्यकालका लागि नेतृत्व निर्माण र राजनैतिक एवम् साँगठानिक अवस्थाको बिचार, विमर्श र विश्लेषण गर्ने पार्टी जिल्ला अध्यक्ष खेमराज पोख्रेलले जानकारी दिनु भयो । अधिवेशनलाई पौष २३ गते अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 


प्रचार प्रसार उपसमितिका संयोजक लोकेश निरौलाले जिल्ला अधिवेशनले एक तिहाई महिलाको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशिताको सिद्धान्त बमोजिम दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, अल्पसङ्ख्यक जातिहरूको समेत प्रतिनिधित्व हुने बताउनु भयो । 

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उप सचिव सहित १३५ सदस्य जिल्ला कमिटीको चयन गर्ने छ । अधिवेशन सम्पन्न गर्न २० लाख खर्च हुने अनुमान एमालेले गरेको छ । खर्चको व्यवस्थापन प्रतिनिधि, कार्यकर्ता शुभेच्छुकबाट गरिने बताइएको छ । अधिवेशनमा नौ उपसमिति गठन गरिएको छ ।

सांगठानिक तथा आर्थिक प्रतिवेदन तयारीको संयोजकमा पार्टी अध्यक्ष खेमराज पोखरेल, आर्थिक व्यवस्थापनको जिम्मेवारी निलम खनाललाई दिएको छ । त्यस्तै प्रचारप्रसार उपसमितिमा लोकेश निरौला र रबि खनाल रहनु भएको छ । ।मञ्च व्यवस्थापन उपसमितिको जिम्मेवारी शत्रुधन प्रसाद यादवलाई दिइएको छ । स्वयम सेवक परिचालन उपसमिति संयोजकमा पदम लिम्बु र अरुण गुरुङलाई तोकिएको छ । खाद्य व्यवस्थापन उपसमितिका लागि पर्शुराम यादव रहनु भएको छ । 

प्रतिनिधि व्यवस्थापन उपसमितिमा नन्द बस्नेत र राम कोइराला रहनु भएको छ । अतिथि सत्कार उपसमितिमा लिलम बस्नेत र सिर्जना परियार रहनु भएको छ । स्वास्थ्य उपसमितिको जिम्मेवारी सुशील अर्याललाई संयोजक तोकिएको छ ।

जिल्ला अधिवेशन प्रतिनिधि छनौट वडा शाखा कमिटीको एकैसाथ पौष १७ गते गर्नेछ । वडा तथा कमिटीलाई प्रतिनिधि छनौटको भूगोल मानी २५ जना सङ्गठित सदस्य बराबर १ जना र प्रत्येक ३ जना प्रतिनिधिमा १ जना महिलालाई अनिवार्य गरिएको छ ।

अधिवेशनको लोगो सार्वजनिक 

यसैबिच आजै अधिवेशनको लागो पनि सार्वजनिक गरिएको छ । लोगोमा नेपालमा सबै भन्दा धेरै अर्ना भएको कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने अर्ना प्रयोग गरिएको छ । देशकै मात्र नभई अर्ना सबै देश विदेशको आकर्षण भएकाले समावेश गरिएको प्रचारप्रसार उपसमितिका सहसंयोजक रबि खनालले जानकारी दिनु भयो । अर्नासगैं सुनसरीका धार्मिक तथा पर्यटकीय गन्तव्य रामधुनी मन्दिर, धरानमा रहेको बुढासुब्बा, पिण्डेश्वर, दण्तकाली इटहरीमा रहेको तालतलैया र बर्जू ताललाई पनि लोगोमा प्रयोग गरिएको छ । 

पत्रकार सम्मेलनमा जिल्ला कमिटी उपाध्यक्ष नन्द बस्नेत, जिल्ला कमिटी उपसचिव लिलम बस्नेतलगायत प्रदेश कमिटीका नेताहरुको सहभागीता रहेको थियो ।