धरान /  प्रदेश १ को पर्यटकीय गन्तव्य धनकुटाको भेडेटारमा तीन दिने फुट फेस्टिवलको तयारी भएको छ ।  होटल एशोसिएसन अफ भेडेटारले यही पुस १६ गतेदेखि १८ गतेसम्म ९औं फुड फेस्टिवल आयोजना गर्ने भएको छ । अंग्रेजी नयाँ बर्षमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न फेस्टिवल आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलन गरि जनाइएको छ । 

तीन दिने फेस्टिवलमा एक करोड बराबरको कारोबार गर्ने अपेक्षा रहेको  एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीले जानकारी  दिनु भयो । करिव ३० हजार पर्यटकहरु भेडेटार चड्ने बताइएको छ । फेस्टिवल स्थलकोरुपमा भेडेटार चोक, काम्फेक, थुम्की, नाम्जे र नमस्ते झरनालाई केन्द्रीत गरिने पत्रकारसम्मेलनमा जानकारी दिइएको थियो । 

फेस्टिवलमा के पाइन्छ 

फेस्टिवलमा भेडेटार क्षेत्रमा पाइने जातीय खानेकुरा, अर्गानिक खानेकुराहरु राखिने छ । स्थानीय कृषि, घरेलु उत्पादनको प्रर्वद्धन गरिने छ ।  साँझ साँस्कृतिक कार्यक्रममा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने रुम्दालले बताउनु भयो ।  

जातीय परिकार, मगरको हुर्रा नाच, विभिन्न आर्गानिक खानेकुरा यहाँका प्रमुख आकर्षण हुन । पर्यटकहरु नमस्ते झर्ना, नाम्जेहोम स्टे, चाल्स पोइन्ट, पाथिभरा मन्दिरमा रमाउन सक्छन् । यहाँ जिपलाइन र प्याराग्लाइडिङकोसमेत व्यवस्था रहेको छ । नयाँ बर्षमा होटल तथा खेलमा विशेष छुट गरिएको होटल व्यवसायीहरुले बताएका छन् । साथै हेलिकप्टरबाट फन फ्लाइटको समेत व्यवस्था गरिएको छ ।