धरान / नेकपा एमालेको धरान उपमाहनगर कमिटी र इनरुवा नगर कमिटीको विवाद मिलाउन पाँच सदस्यीय कार्यदल बनाइएको छ । बुधबार इनरुवामा भएको जिल्ला कमिटी बैठकले जिल्ला अध्यक्ष खेमराज पोखरेलको  संयोजकत्वमा कार्यदल गठन गरेको हो ।  सदस्यहरुमा नन्द बस्नेत, लोकेश निरौला, पशुृराम यादव र योग्यराज खड्का रहनु भएको छ ।  कार्यदलले दुवै नगरको विवाद मिलाएर कमिटी बनाउने जिम्मेवारी पाएको छ । 

धरान उपमहानगरमा दुई वटा समानान्तर कमिटी छ । इनरुवामा कमिट िबन्न नसके पछि अधिवेशन नै स्थगित भएको थियो । धरानमा एकै दिन कर्तिक ९ गते संस्थापन पक्षको हर्कजंग एभेङको नेतृत्वमा एउटा कमिटी र इतर पक्षको नारायण सुवेदीको नेतृत्वमा अर्को कमिटी बनेको थियो । दुवै कमिटीले आफ्नो गतिविधी गदैं आएको छ । 

बुधबार एमाले जिल्ला कमिटीको पूर्ण बैठकले पुष २३ गते इनरुवाको पुरानो जेल फिल्डमा अधिवेशन गर्ने निर्णय पनि गरेको छ । अधिवेशनको लागि विभिन्न ८ वटा उपसमिति गठन गरिएका छन् ।  सांगठनिक प्रतिवेदन तयारी, प्रतिनिधि ब्यवस्थापन, आर्थिक, मञ्च ब्यवस्थापन, स्वयंसेवक परिचालन, खाद्य ब्यवस्थापन, अतिथि सत्कार, प्रचारप्रसारलगायत उपसमिति निर्माण गरिएको जिल्ला अध्यक्ष खेमराज पोखरेलले जानकारी दिनु भयो । 

जिल्ला अध्यक्ष खेमराज पोखरेलको अध्यक्षता तथा केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज जगदीश प्रसाद कुसियतको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।  बैठकमा प्रदेश कमिटी सदस्य एवम संविधान सभा सदस्य रेवती रमण भण्डारी र प्रदेश सदस्य रमेश बस्नेतले पनि सम्बोधन गर्नु भएको थियो ।