धरान / किरातहरुको राष्ट्रिय चाड उभौली आजदेखि शुरु भएको छ । सोही अवसरमा धरानमा पाँच दिने चासोक तङनाम सांस्कृतिक उत्सव हुने भएको छ । 

किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिले आदिवासी लिम्बु याक्थुङहरुको महान् चाड चासोक तङनाम २०७८ धरानमा भव्यताका साथ मनाउन लागेको हो । चुम्लुङले विगतदेखि चासोकलाई ठूलो उत्सवका रुपमा मनाउदैं आएको छ ।  पाँच दिने चासोक तङनामलाई भव्यताका साथ सम्पन्न गर्न १८ वटा विभिन्न उपसमितिहरू समेत गठन गरिएका छन् ।

पुस ४ गते बिहान विजयपुर स्थित हाङयुक्नामा लिम्बु याक्थुङ विधि अनुसार पूजा गर्ने कार्यक्रम रहेको छ । त्यही समयमा तीनकुने स्थित किरात विभूति एवम् सहिद श्रीजंगाको सालिकमा माल्यार्पण हुने किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिका सचिव जय सम्वाहाम्फेले विज्ञप्ति जारी गरि जानकारी दिनु भएको छ । 

धरान(१५ स्थित चुम्लुङ हिममा पाकेको नयाँ अन्नबाली इष्ट देवतालाई चढाउने कार्यक्रम रहेको छ । पुस ४ गते दिउसो १ बजे चुम्लुङ हिममा धरान उपमहानगरपालिकाको प्रमुख तिलक राईको प्रमुख आतिथ्यमा चासोक तङनाम २०७८ को औपचारिक उद्घाटन हुनेछ ।

यसै गरी पुस ५ गते दिउँसो के–लाङ (च्याब्रुङ नाच) प्रतियोगिता, पुस ६ गते आदिवासी जनजाति महासङ्घ अन्तर्गतका आदिवासी सङ्घ संस्थाहरूको सांस्कृतिक प्रदर्शनी एवम् तरेचा (पाहुना खाना) आयोजना हुनेछ भने साँझ स्थानीय र राष्ट्रिय कलाकारहरूको सांस्कृतिक साँझ हुने उहाँले जानकारी दिनु भयो । 

पुस ७ गते या–लाङ (धान नाच), पालाम आयोजना हुने छ । पुस ७ गते नै चासोक तङनाम २०७८ को समापन प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्यमा सम्पन्न हुने छ । पुस ७ गते साँझसम्म या–लाङ आयोजना हुने जनाइएको छ ।

धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङको चुम्लुङ हिममा आयोजना हुने चासोक तङनाम उत्सवमा विभिन्न २२ वटा स्टलहरू पनि राखिएका छन् । स्टलहरूमा आदिवासी जन्य सांस्कृतिक परिकारहरू र सांस्कृतिक स्टलहरू रहेका छन् ।