धरान  / सामान्यतः ७ दशक उमेर नाघेपछि कतिपय ज्येष्ठ नागरिक पूजापाठ, भजनकीर्तन अनि आराममा जम्छन् । जीवनको उत्तराद्र्धको समय आराम गर्ने नै हो । तर ८० पुग्न लाग्नु भएका धरानका प्रभु श्रेष्ठ त्यसरी आराम गरेर बस्नु भएको छैन् ।  सेतै फुलेको कपाल र बुढ्यौलीको धर्सा देखिन थालेको अनुहार भए पनि उहाँको काम गर्ने उत्साहमा कुनै कमी छैन । उहाँ निरन्तर धरानेको विकासमा लागिरहनु भएको छ । 

पूखौली घर धरान हो । प्रायः काठमाडौ बस्नु हुन्छ । काठमाडौ बसे पनि उहाँको ध्यान धरानलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेमा छ । धरानका लागि के गर्न सकिन्छ भनेर सधै छलफल, परामर्श गर्नु हुन्छ । नेता, कर्मचारी, धरान घर भएका काठमाडौवासीसँग निरन्तर भेटघाट गर्नु हुन्छ । उहाँको दिनाचार्य नै धरानका लागि वित्ने गरेको छ । धरान आएका बेला पनि घरमा आराम गरेर बस्नु हुन्न । सम्पन्न परिवारमा हुर्कनु भएका श्रेष्ठ स्कुटीमा चढेर बजार घुमनु हुन्छ । नयाँ पुस्तालाई सल्लाहा सुझाव दिनु हुन्छ । जनप्रतिनिधीहरुलाई मन्त्रालय, विभागसँग जोडिदिनु हुन्छ । 

होचो कद, सेतै फुलेको कपाल, मिजासिला सबैसँग उतिकै मिलनसार समाजसेवी परिचय बनाउनु भएका प्रभु श्रेष्ठ उमेरले ७८ काट्नु भएको छ । २००० साल साउनमा जन्मनु भएको श्रेष्ठले २०२४ सालमा धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट स्तानक गर्नु भएको थियो । उहाँ उमेरमा खेलकुद क्षेत्रमा निकै लाग्नु भयो । खेल क्षेत्रमा उहाँको योगदान अविस्मरणीय छ । यति बेला भने धरानका लागि लडिरहनु भएको छ । २०१७ सालमा महेन्द्र क्याम्पस पढ्दादेखि उहाँ कलेजको फुटवल क्याप्टेन हुनु भयो । २०२४ सालमा जिल्ला खेलकुद विकास समिति सुनसरीको सचिव भएर काम गर्नु भयो । उहाँको सकृयताले २०२८ सालमा अञ्चल खेलकुद विकास समिति सदस्य हुनु भयो । टेवुल टेनिसमा पोख्त श्रेष्ठ २०३० सालमा पञ्जावको पटियालामा टेवलटेनिस कोचको एक बर्षे कोर्ष गर्ने मौका पाउनु भयो । उहाँले डिप्लोमा इन टेवलटेनिस पनि गर्नु भएको छ । २०३१ सालदेखि उहाँ कोचको रुपमा ८ बर्ष राष्ट्रिय खेलकुद परिषद्मा जागिरे पनि हुनु भयो । त्यस बेला उहाँ मासिक ४७५ रुपैया तलव थाप्नु हुन्थ्यो । त्यसो त उहाँले २०२० देखि ८ बर्ष विज्ञान विषयका शिक्षकको रुपमा काम गर्नु भएको थियो । मासिक १९० रुपैया तलव खाने श्रेष्ठ जागिर छाडेर खेलकुदतिर होमिनु भएको थियो । २०४५ सालमा टेवल टेनिस संघको सदस्य हुनु भयो । सोही समयमा राष्ट्रिय खेलकुद परिषदको सदस्य पनि हुनु भयो । गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला नेपाली कांग्रेस निकट श्रेष्ठ २०४८ सालमा पुन राखेपको सदस्य हुनु भयो । उहाँ सदस्य भएका बेला चाइना, नार्थ कोरिया, साउद कोरिया, जापान, हङकङ, थाइल्याण्ड, जर्मन, दुवई, इरान,इराकलगायत मुलुकमा विभिन्न खेलका प्रतियोगिताहरुमा टिम लिएर जानु भएको  थियो । त्यस बेला भरतमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायतले खेलकुदका मान्छे भनेर उहाँलाई चिन्ने गरेका थिए । 

२०४८ सालमा उहाँको सकृयतामा भरतमोहन अधिकारीको नेतृत्वमा शम्भुसरण कायस्था, गोविन्दराम अग्रावाल, हरिहर दाहाललगायतको टिम बनाएर धरानमा मेडिकल कलेज चाहिन्छ भनेर तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाई ज्ञापन पत्र बुझाउनु भएको थियो । गिरीजाकै पालामा धरानमा विपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठान स्थापना भएको हो । 

२०५० साल पछि भने उहाँले खेलकुद क्षेत्रका काम कम र सामाजिक काम बढि गर्न थाल्नु भयो । २०४२ साल मै उहाँको नेतृत्वमा ‘सुनसरी संगम’ भन्ने संस्था स्थापना भएको थियो । त्यसमा धरानका सूर्यप्रसाद उपाध्यय, जाउल हक, इनरुवाका दिलबहादुर श्रेष्ठ, कमला न्यौपाने, होमबहादुर श्रेष्ठ,  यज्ञ प्रसाद आचार्यको टिम थियो । त्यस बेला उहाँहरु सुनसरीका खम्वा हुनु हुन्थ्यो । यस संस्थाले सुनसरीवासीहरु मर्दापर्दा, केही समस्या पर्दा दिल खोलेर सहयोग गर्ने गरेको थियो । सुनसरीको विकासका लागि उक्त संस्थाले काठमाडौंमा लभिङ गरेको थियो । 

उहाँले समग्र जिल्लाको काम गर्न अलिक असहज भए पछि धरानलाई केन्द्रित गर्नु भयो । धरान सुनसरीको एउटा टापुको रुपमा रहेको छ । सरकारको नजर कम पर्ने गरेको छ । धरानको विकासका लागि भनेर १२ अघि धरान सरोकार समाज काठमाडौं गठन गर्नु भयो । उहाँको नेतृत्वमा बनेको संस्था अझै क्रियाशिल छ । त्यस संस्थामा धरानका चिनिएका व्यक्तित्वहरु चन्द्र घिमिरे, शरु जोशी, सुरेश आचार्य, महेश अग्रवाल, शम्भुसरण अग्रवाल, रामबाबु शर्मा, चन्द्र प्रकास मास्केलगायत मिलेर संस्था खोलिएको थियो । उही संस्थाको व्यानेरमा धरानेहरु काठमाडौंमा भेला हुने, छलफल गर्ने, विकासका लागि पहल गदैं काम गदैं आएको छ ।

मनोज मेनाङ्म्बो धरान उपमहानगरपालिकाको मेयर भएको बेला धेरै काम सहकार्य गरेर काम गरेको अनुभव श्रेष्ठ सुनाउनु हुन्छ । मन्त्रालयमा अडकिएका खानेपानी, सडकलगायतका काम सरोकार समाजले पहल गर्ने गरेको छ । श्रेष्ठकै समन्वयमा धरानबाट कुनैकामका लागि डेलिगेसन काठमाडौ पुग्दा सहयोग गर्ने गरिएको छ । 

‘किरण राई माननीय हुदा धरानमा खानेपानीका लागि पहल ग¥यौं । एयरपोर्टका लागि धेरै पटक लभिङ गरेका छौं तर नेताहरुले नै चासो नदेखाउदा सफल हुन सकेको छैन् ।’–श्रेष्ठले भन्नु भयो । उहाँको नेतृत्वमा धरान–४ मा विग बुद्ध विहार निर्माणका काम थालिएको छ । धरानलाई कसरी विकास गर्ने त्यहाँका जनताका सुविधाका लागि के गर्न सकिन्छ भनेर उहाँको मनमा आइरहन्छ । त्यही भएर धरानसँग जोडिएका व्यक्तिहरुसँग यहाँ सहकार्यगर्नु हुन्छ । मन्त्रालय विभाग धाउनु हुन्छ । एक लाख खोप धरानका जनताका लागि भनेर उहाँले दातृ निकायसँग पहल गरिरहनु भएको छ । धरानका धेरै व्यक्ति मन्त्रालयमा सचिव तथा नेतृत्व तहमा भए पनि धरानका विकासका लागि नेताहरु न्पुग्ने गरेको उहाँको अनुभव छ । तर उहाँ आफै पुगेर समन्वय गर्नु हुन्छ । धरानका जनताले दुख भोग्न नपरोस भन्ने आफ्नो मनमा रहेको उहाँ बताउनु हुन्छ । धरान र धरानेहरुको लागि आफु पाको उमेर भए पनि सक्रिय भएको उहाँ बताउनु हुन्छ ।