धरान / अस्पतालमा जाँच गर्दा लिइने पूर्जा लिन झन्झटिलो व्यवस्थालाई यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विस्थापन गरेको छ । शुक्रबारबाट बिरामीको टिकट वितरण (Registration) मा डिजिटल सेवाको सुरुवात गरेको छ । अव विरामीले पूर्जा लिन विहानभरी लाइन बस्नु पर्दैन ।
प्रतिष्ठानको मोबाइल एप्लिकेसन मार्फत विरामीले अनलाइन टिकट लिन सक्नेछन् । उक्त सेवाका लागि सेवाग्राहीले एन्ड्रोइड मोबाइलको प्लेस्टोरमा गएर "B.P. Koirala Institute of Health Sciences (BPKIHS)" एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । तत्पश्चात एपबाटै टिकट काटी आफुलाई आवश्यक पर्ने चिकित्सकसँग समय लिन सक्ने प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेले जानकारी दिनु भयो ।
उक्त प्रविधिले घण्टौ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउने प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले बताउनु भयो । यो सेवालाई अझ विस्तार गरि ल्याब परिक्षणका रिपोर्टहरु अनलाइनबाटै हेर्न मिल्ने एवं पेइङ तर्फको बिरामी नाम दर्ता समेत यथाशिघ्र संचालनमा ल्याउने उहाँले बताउनु भयो ।
उक्त सेवाको उपयोग गर्न बिरामीलाई सहज होस भनि प्रतिष्ठानको टिकट काउन्टर भवनको बाहिर पट्टि अनलाइन टिकट कसरी लिने भनेर सिकाउन सहयोगी समेत राखिएको छ ।