काठमाडौं । आज नेपाली पात्रो अनुसार विहान ११ः१५ बजेदेखि सूर्यग्रहण लाग्दै छ । पञ्चाङका अनुसार यो सूर्य ग्रहण मार्गशीर्ष मासको अमावश्याका दिन लाग्न लागेको हो । यो ग्रहण वृश्चिक राशि तथा ज्येष्ठा नक्षत्रमा लाग्नेछ । यो अंग्रेजी वर्ष २०२१ को अन्तिम ग्रहण पनि हो ।

यो सूर्यग्रहण अन्टार्टिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, दक्षिण अमेरिका तथा एटलान्टिकको दक्षिणी भागबाट मात्र देखिने बताइएको छ । नेपालमा नदेखिने हुँदा यसको सूतक नपर्ने बताइएको छ ।

यो ग्रहण दिउँसो ३ः२२ बजे समाप्त हुनेछ । नेपालमा यो ग्रहण नदेखिने हुँदा यसका लागि केही गरिरहनु पर्दैन । यसपटक पश्चिम अन्टार्कटिकाको पूर्वदेखि पश्चिमसम्म पूर्ण सूर्यग्रहण देखिनेछ भने उत्तरी अमेरिका, युरोप तथा एसियाको उत्तरी भागमा आंशिक सूर्यग्रहण देखिनेछ ।

हिन्दु मान्यताअनुसार यो सूर्यग्रहणको प्रभाव खासगरी वृश्चिक राशि तथा अनुराधा र ज्येष्ठा नक्षत्रमा सबैभन्दा बढी पर्नेछ । यो सूर्यग्रहणको समयमा सूर्य र चन्द्रमा दुवै वृश्चिक राशिमा रहनेछन् । गर्भवती महिलाहरुले ग्रहण हेर्नबाट जोगिनुपर्छ ।

ग्रहणको समयमा मनमनै आफ्ना इष्ट देवको आराधना गर्न सकिन्छ । सूर्यग्रहणका समयमा ‘ॐ आदित्याय विदमहे दिवाकराय धीमहि तन्नो सूर्य प्रचोदयात’ मन्त्र जप्नु फलदायी मानिन्छ ।