धरान / आज बाला चतुर्दशी, धरानको पिण्डेश्वरसहित देशका विभिन्न शिवालय मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । मार्ग कृष्ण चतुर्थीका दिन मनाइने यस पर्वमा आजका दिन बिहानै स्नान गरेर ‘सतविज’ छर्ने चलन छ । रातभरी जाग्रम बसेर विहान सतविज गरिने गरिन्छ ।

यस दिनको विशेष महत्व भनेको ’सतविज’ छर्नु हो । मसिंर कृष्ण चर्तुदशीको यस विशेष दिन नै वाला चतुर्दशी हो र मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राकालागि आजको दिन अत्यन्त महत्पूर्ण दिनका रुपमा लिइन्छ । नेपाल अनि भारतका विभिन्न महत्वपूर्ण शक्तिपीठ अनि वेणीधामहरुमा आज सतविज छर्ने तिर्थालुहरुको घुईँचो रहनेगर्दछ । धरानको पिण्डेश्वर मन्दिरमा आज रातभरी जाग्राम बस्नेहरुको भीड थियो । नाचगान गर्ने, भजन गाउनेहरुको भीड लागेको थियो । रातभर जाग्राम बसेर विहान ४ बजेदेखि सतविज छर्ने र दशृन गर्नेको अहिलेसम्म भीड लागेको पिण्डेश्वर बाबाधाम व्यवस्थापन समितिका अध्यक्ष विकास बनेपालीले बताउनु भयो ।

के हो सतविज
सतविज भन्नाले पितृ उद्धारसँग सम्बन्धित चर्चित धार्मिक वनहरु जस्तैः कैलाश डाँडा, श्लेष्मान्तक वन अनि अन्य आस्था गाँसिएका वनहरुमा गएर छर्ने सातप्रकारको अन्नहरु पर्दछन् । यस्ता अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्तधानायूक्त शतविज र विभिन्न प्रकारका फूलहरु रहने गर्दछ ।

सतविज छर्ने चलन ठाँउअनुसार आ–आफ्नै खालका रहेको पाईन्छ र माथी उल्लेख गरिए बाहेकका अन्य अन्नहरू जस्तैः चना, तील, मकैहरुका साथै कागती, निबुवा, विमिरो, सुन्तला, स्याउ, उँखु, अम्बा, केरा पनि राख्ने चलन रहेको जानकारहरु बताउछन् । यसरी सतविज छर्नका लागि चर्तुदशीभन्दा एकदिन अगाडिनै अर्थात त्रयोदशीकै दिन राती जाग्राम बसेर दिप प्रज्वलन गर्दै अनि भजन किर्तन गर्दै आँखा झिमिक्क नपारी भोलीपल्ट विहानै स्नान गरेर चोखोनितो गरी सतविज भर्ने गरिन्छ ।

यसरी पृथ्वीलोकमा छरिएको सतविज पितृहरुको लोकमा गएर अंकुरण हुने र यिनै विजहरूका कारणले पितृहरु कहिल्यै भोकै बस्न नपर्ने मान्यता रहेको छ ।

 

pindeshor1 pindeshor magne pindeshor