चितवन / नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाधिवेशन उद्घाटनस्थलको मञ्चमा अत्याधुनिक प्रविधि सहितको उपकरण जडान गरिने भएको छ । नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै मञ्च निर्माण भइरहेको मञ्च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताउनुभयो ।
प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले पाँच लाख नागरिकले सजिलै हेर्न मिल्नेगरी मञ्च निर्माणको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार एकै स्थानबाट पाँच लाख मानिसले उद्घाटन सत्र अवलोकन गर्न नसक्ने भएकाले विभिन्न स्थानबाट लाइभ प्रशारण गरिनेछ । उद्घाटन सत्र लाइभ गर्नका लागि भिडियो क्यामेराका साथै कम्तिमा दुई वटा ड्रोन क्यामेरा समेत प्रयोग गरिने श्रेष्ठले बताउनुभयो ।
मङ्सिर ९ गते हस्तान्तरण गर्नेगरी मञ्च निर्माणको काम भइरहेको भन्दै श्रेष्ठले हालसम्म मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको बताउनुभयो । त्यसैगरी सौराहामा बन्दसत्र हुने हल निर्माणको काम समेत आजदेखि नै सुरु भइसकेको श्रेष्ठले जानकारी दिनुभयो ।
पत्रकार सम्मेललनमा अनुगमन समितिको संयोजकमा काशिनाथ अधिकारीले महाधिवेशनको कामहरुको नियमित अनुगमन भइरहेको बताउनुभयो । समितिले कामलाई थप गति दिन आवश्यकताअनुसार जनशक्तिको व्यवस्थापन समेत गरेको उहाँको भनाइ छ । महाधिवेशन तयारीको कामले हिजोदेखि गति समातेको भन्दै अधिकारीले जनसहभागिता जुुटाउन गाउँगाउँमा घरदैलो कार्यक्रम जारी रहेको बताउनुभयो ।
मङ्सिर १० गते हुने उद्घाटन सत्रमा सहभागी हुनका लागि विभिन्न ६ स्थानबाट ¥याली निकाल्ने गरी तयारी भइरहेको अधिकारीले बताउनुभयो । गैँडाकोट, आँपटारी, विशाल चोक, केन्द्रीय बस टर्मिनल, त्रिचोक, बेलचोकबाट ¥याली निकाल्दै ब्यापक जनसहभागिता जुटाउनेगरी तयारी भइरहेको अधिकारीको भनाइ छ ।
पत्रकार सम्मेलनमा प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जिल्लामा विभिन्न ६ वटा समिति निर्माण गरेर काम अगाडि बढाइएको बताउनुभयो । व्यापक जनसहभागिता जुटाउनका लागि जिल्लाका ९८ वटै वडा कमिटी, दुई वटा शाखा कमिटी र पार्टीका सबै जनवर्गीय संगठनहरु परिचालन भइरहेको सुवेदीले बताउनुभयो ।
नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जिल्लामा निर्माण गरिएका सबै समितिहरुले आफ्नो कामलाई तीव्ररुपमा अगाडि बढाइरहेको बताउनुभयो । जिल्लामा रहेका सुरक्षा निकायहरुसँग सहकार्य गरेर ट्राफिक व्यवस्थापन सहित सुरक्षाको काम भइरहेको रावलले बताउनुभयो ।

१४० जना ट्राफिक प्रहरी परिचालन
नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै जिल्लामा थप एक सय जनाभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । महाधिवेशनको उद्घाटनमा धेरै सवारीसाधन आउने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप प्रहरी परिचालन गर्न लागिएको हो । यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलले महाविधेशन उद्घाटनका दिन जिल्लाको यातायात व्यवस्थापनलाई सहज बनाउन थप जनशक्ति परिचालन गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो । मङ्सिर ९ गतेदेखि नै नारायणगढ र भरतपुर क्षेत्रलाई केन्द्रित गरेर ट्राफिक प्रहरीको थप जनशक्ति परिचालन गर्नेगरी समन्वय भएको भुर्तेलले जानकारी दिनुभयो ।
महाधिवेशन उद्घाटनका दिन आउने सवारीसाधनलाई व्यवस्थित गर्दै यातायातको सहज आवागमन गराउनका लागि अहिलेबाटै गृहकार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भगवानराज थापाले बताउनुभयो । जिल्लामा हाल ४० जना ट्राफिक प्रहरीले काम गरिरहेका भन्दै थप एक सय जना जनशक्तिले ट्राफिक व्यवस्थापनको काम गर्ने थापाले बताउनुभयो । उहाँकाअनुसार महाधिवेशनमा भाग लिन पश्चिमका जिल्लाबाट आउने सवारीसाधनलाई नवलपरासीको गैँडाकोटमा, पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बस टर्मिनल लगायतका ठाउँमा नारायणगढ मुग्लिन सडक हुँदै आउने सवारीसाधनलाई नेपाल ट्रष्टको कार्यालय, पश्चिम चितवन क्षेत्रबाट आउने सवारीसाधनलाई बेलचोक क्षेत्र र वागीश्वरीमा तथा चितवनकै कालिका नगरपालिकासहितका स्थानबाट आउने सवारीसाधनलाई वीरेन्द्र क्याम्पसको नौ बिघा चौरमा व्यवस्थापन गरिदैछ ।
महाधिवेशन उद्घाटनका दिन सवारी साधनलाई कुन तरिकाले सञ्चालन गर्न दिने भन्ने विषयमा छलफल भइरहेको थापाले बताउनुभयो । एमालेको राष्ट्रिय महाधिवेशनमा पाँच लाख मानिस उतार्नेगरी काम भइरहेका जनपरिचालन समितिले जनाएको छ ।