विराटनगर / आज प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रस्ताव संसदमा छलफल गर्ने भनिए पनि प्रमुख प्रतिपक्ष दल संसदमा उपस्थित नभए पछि छलफल हुन पाएन ।
प्रदेश सभामा बसेको हिउँदे अधिवेशनको पाँचौँ बैठकबाट मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गर्ने कार्यसूची भए पनि मुख्य प्रतिपक्ष दल एमालेका सांसद सहभागी नभएपछि उक्त प्रस्ताव संसदमा टेबल हुन नसकेको संसद सचिवालयले जनाएको छ ।

नेपाल बन्दको कारण सबै संसद उपस्थित हुन नसक्ने भएकाले बैठक स्थगित गर्न एमालेलेमाग गरेको थियो । तर एमालेको मागलाई वेवास्ता गरे पछि कोही पनि संसद बैठकमा उपस्थित भएनन् ।
पाँचदलीय गठबन्धनमा आबद्ध दलहरूले बहुमत पुग्ने भएकोले संसद् बैठक सुचारु गराएर विश्वासको मत लिने प्रस्ताव टेबल गराएर निर्णयार्थ पेस गर्न सभामुखलाई दबाब दिएका थिए।

तर, सभामुख प्रदीपकुमार भण्डारीले मुख्य विपक्षी दल सहभागी नभएको भन्दै एक मिनेट बैठक राखेर भोलि बुधबारसम्मका लागि बैठक स्थगित गराउनु भएको छ ।
नियम अनुसार प्रमुख प्रतिपक्ष दलका अनुपस्थितिमा बैठक सञ्चालन गर्न मिल्दैन् । १७ कात्तिकमा पाँचदलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका राईले २८ कात्तिकमा विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए।

प्रदेश १ मा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका एक गरी गठबन्धनमा ५० सांसद छन्। विपक्षी दल एमालेमा ४१ मत छ भने एक सांसद मात्र रहेको विपक्षी दल राप्रपा तटस्थ छ। तर मन्त्री नपाउने केही माननीयहरुले राईलाई विश्वासको मत नदिने तयारी गरेको बुझिएको छ । राईले मन्त्री बनाउने सर्तमा मुख्यमन्त्री हुदा हस्ताक्षर गराए पनि यति बेला मन्त्री बनाउन आनाकानी गरेको बताइएको छ । मुख्यमन्त्री राईलाई विश्वासको मत नपुग्ने वातावरण बन्दैं गएको एक प्रदेश सभा सदस्यले बताउनु भयो । ए ।

१५ कात्तिकमा प्रदेश १ का दोस्रो मुख्यमन्त्री एमालेका भीम आचार्यले राजीनामा दिनु भए पछि कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र संघीय लिम्बुवान मञ्चसहितको पाँचदलीय गठबन्धनबाट एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई १७ कात्तिकमा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । उहाँले सोही दिन एक राज्यमन्त्री र चार विभागीय मन्त्रीसहित ६ जनाको मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । अन्य मन्त्री छनौटा भने भागबण्डा नमिल्दा विवाद भएका कारण मन्त्रिपरिषद विस्तार हुनज सकेको छैन् ।