काठमाडौं / कपा एमालेले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गर्नु भयो ।

लोगोमा पार्टीको चुनाव चिन्ह सूर्य र पार्टीको झण्डा बोकेको गैंडा राखिएको छ। चितवन गैंडाका लागि प्रख्यात भएकाले लोगोमा गैंडा पनि समावेश गरिएको महाधिवेशन प्रचार समितिका संयोजक योगश भट्टराईले जानकारी दिनु भयो । त्यसैगरी पत्रकार सम्मेलनमा पार्टीको मूल नारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं । जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ उल्लेख गरिएको जिंगल पनि सार्वजनिक गरिएको छ।

महाधिवेशनमा पार्टीका सदस्यहरुले सहयोगस्वरुप उपलब्ध गराउने कम्तिमा एक सय सहयोग उपलब्ध गराउनका लागि क्यूआर कोडसमेत सार्वजनिक गरिएको छ ।

आसन्न मंसीर १०–१२ मा चितवनमा हुने एमालेको राष्ट्रिय महाधिवेशनमा दुई हजार बढि प्रतिनिधिहरु सहभागी हुने बताइएको छ। महाधिवेशनमा करिव आठ लाख पार्टी सदस्यहरु सहभागी हुने पार्टीका प्रवक्तासमेत रहनुभएका भट्टराईले जानकारी दिनु भयो ।