मोरङ / प्रदेश नम्बर १ को अस्थायी मुकाम विराटनगरको वीरेन्द्र सभागृहमा प्रदेशसभा सदस्यहरुको शपथग्रहण भएको छ । आईतबार विहान भद्रपुरका ७३ वर्षीय ओमप्रकाश सरावगीले प्रदेश नम्बर १ का सांसदलाई आइतबार शपथ ग्रहण गराएका छन् । नेपाली काँग्रेसबाट समानुपातिक प्रदेशसभा सदस्य बनेका सरावगीलाई भने प्रदेश नम्बर १ का प्रमुख गोविन्दबहादुर तुम्बाङले शपथ खुवाएका हुन ।
मञ्चमा प्रदेश प्रमुख तुम्बाङ, प्रदेश सभाका ज्येष्ठ सदस्य सरावगी, क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा, महानगरका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्की आसिन थिए ।
राष्ट्रिय गानबाट सुरु भएको शपथ ग्रहण समारोहमा सहभागी प्रदेश नम्बर १ का ९३ जना प्रदेश सभा सांसद विभिन्न भेषभुषामा उपस्थित भए । प्रदेश प्रमुख तुम्बाङले ज्येष्ठ सदस्य सरावगीलाई सुरुमा एक्लै शपथग्रहण गराएका थिए । त्यसलगत्तै ज्येष्ठ सदस्य सरावगीले दर्शकदीर्घामा लहरै बसेका प्रदेश सांसदलाई शपथ खुवाए ।
निर्धारित समय भन्दा दुई घण्टा ढिलो शपथ ग्रहण समारोह सुरु भएपनि सुनसरीको समानुपातिक सांसद उमिता विश्वकर्मा र उदयपुरको निर्वाचित सांसद कला घले आइपुगिन् । शपथग्रहणपछि आयोजित जलपान समारोह चलिरहँदा आइपुगेका यी दुबै प्रदेशसभा सदस्यको शपथग्रहणका कागजी प्रकृया पुरा गरिएको छ ।

लिम्बुवान सांसद भन्छिन–प्रदेश १ लिम्बुवान, राजधानी विजयपुर हुनु पर्छ
प्रदेश १ मा संघीय लिम्बुवान पार्टीकी एक्ली प्रदेश सांसद बिष्णु तुम्बाहाम्फे रहेकीछन् । उनी प्रदेश १ को नाम लिम्बुवान र राजधानी धरानको विजयपुर हुनुपर्ने बताउछिन् ।
बिराटनगरको वीरेन्द्र सभागृहमा प्रदेश सभा सदस्यहरुको सपथ लिएकी तुम्बाहाम्फेले राजधानीका लागि बिराटनगर उपयुक्त नभएको बताइन् । ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान नाम र राजधानी बिजयपुरमा हुनुपर्ने उनको तर्क छ ।
२७ हजार हाराहारीको मतले प्रदेशसभाको समानुपातिक सदस्य बनेकी तुम्बाहाम्फेले आफूले प्रदेश सभाका सबै मञ्चमा लिम्बुवान स्थापनाका लागि आवाज उठाउने बताइन् ।
संघीय लिम्बुवान मञ्चकी उपाध्यक्ष समेत रहेकी तुम्बाहाम्फेले भनिन –‘आफ्नो पार्टीको बटमलाइन अरुण नदीपूर्वका ९ जिल्लालाई लिम्बुवान नामाकरण गर्नुपर्ने हो । त्यसैको लागि प्रदेशसभामा लडाई लड्ने छु ।’
मोरङ क्षेत्र नम्बर ३ मा ०४८ साल र ०५१ सालमा गोरेबहादुर खापांगीको राष्ट्रिय जनमुक्ति पार्टीबाट सांसद भिडेकी तुम्बाहाम्फेले यो पटक संघीयता आइपछि मात्रै सांसद बन्न पाएकी हुन् । सांसद भएकाले अब लिम्बुवान प्राप्तिमा आफ्नो भूमिका बलियो बनाउने उनले बताइन् । प्रदेश १ का कुल ९३ सांसदमा एकजना मात्रै लिम्बुवान पार्टीको सांसद भए पनि आफ्नो एजेण्डा बलियो भएकाले लिम्बुवान प्राप्ति भएरै छाड्ने उनको भनाई छ ।