धरान ।   धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको विषयमा अध्ययन गर्न गठित छानविन समितिले प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रतिवेदन बुझाएको छ ।

शुक्रबार छानविन समितिको संयोजक सहकुलपति एवं स्वास्थ्य मन्त्री विरोध खतिवडा, स्वास्थ्य सचिव डा.रोशन पोख्रेल र धरानका मेयर तिलक राईले प्रधानमन्त्रीलाई भेटेर प्रतिवेदन बुझाएको हो । कुलपति देउवाले गत कात्तिक ५ गते २१ दिनको समय तोकेर छानविन समिति गठन गर्नु भएको थियो ।
प्रतिष्ठानका सिनेट सदस्य समेत रहनु भएका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रधानमन्त्रीले दिएको निर्देशन अनुसार गठित छानविन समितिले प्रतिवेदन बुझाएको जानकारी दिनुभयो । प्रतिष्ठानका वहालवाला उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा.गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई कारबाही गर्न प्रतिवेदनमा सिफारिश गरिएको छ । मेयर राईले अब चाडै सिनेटको बैठक बोलाएर कारबाही प्रक्रिया अगाडी बढाईने बताउनुभयो ।

यस्तै, मेयर राईले प्रा.डा.मोहनचन्द्र रेग्मीले प्रष्ठिानको रजिष्ट्रारबाट राजिनामा दिइसके पनि उनको कार्यकालमा भएका खरिदलगायत कुराको थप आवश्यक छानबिन गरि कारबाही गर्न सिफारिश गरिएको जानकारी दिनुभयो ।
प्रतिवेदन बुझाउदैं स्वास्थ्य मन्त्री खतिवडाले प्रतिष्ठानमा पुगेर पदाधिकारी, आन्दोलनरत चिकित्सक, शिक्षक, विद्यार्थी, नागरिक समाजलगायतसँग छलफल गरेर प्रतिवेदन बनाइएको बताउनु भयो । ‘प्रतिवेदनमा तीन जना पदाधिकारीहरुलाई स्पष्टिकरण बुझाउने अवसर दिएको छ । नियमवाली अनुसार ५÷७ दिनको अवधी दिएर सिनेट बैठक बोलाइने छ र त्यहाँबाट पदाधिकारीलाई कारवाही गरिने छ ।’–मन्त्री खतिवडाले भन्नु भयो । केही न केही समस्या भएरै छानविन समिति बनेकाले हालका पदाधिकारी कारवाहीको दायरामा आउने उहाँको भनाई छ ।