विराटनगर । विराटनगर कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीहरूबीच दोहोरो झडप भएको छ । मंगबलार १० बजे कारागार भित्र कैदीबन्दीहरू बिच दोहोरा झडप भएको प्रहरीले जनाएको छ । झडपमा परि चौकीदार गुरूङसहित ६ जना घाइते भएका छन् । घाइते हुनेहरूमा नाइके किरण गुरुङ, शेखर राई, निर्मल ढकाल, बिशाल मुक्ताङ, डिल्ली देवान र सुर्यदिप गुप्ता रहनु भएको छ ।
घाइते हुने कैदीबन्दीहरूलाई सामान्य चोटपटक लागेकोले उपचारको लागि कोशी अस्पताल पठाइएको जेलर रामप्रसाद पोखरेलले जानकारी दिनु भयो । चौकीदार गुरूङको निर्देशनमा नाइके र भार्इ नाइकेहरूले यताना दिएको भन्दै यहाँका कैदीबन्दीहरू आन्दोलित भएका थिए । चौकीदार गुरूङको शोषण र यातना सहन नसकेपछि गुरूङसहित उनी समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई यहाँका कैदीबन्दीहरूले एउटा कोठामा थनिदिएका थिए । त्यसपछि कैदीबन्दीहरुबिच दोहोरो झडप भएको कारागार स्रोतले जानकारी दिएको छ । कर्तब्य ज्यान मुद्दामा कैद साजय भोग्दै आएका गुरूङले केदीबन्दीहरुलाई यातना दिने गरेको आरोप छ ।
यातना र अत्याचार सहन नसकेपछि अन्य कैदीबन्दीहरुले चौकीदार गुरूङसहित नाइके र भाइ नाइकेहरू पदम कुमार लिम्बु, निर्मल ढकाल, राम कुमार राई, रमेश मण्डल, शेखर राई, बिशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सुर्यदिप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईलाई एउटा कोठामा थुनिदिएका थिए । थुनिएका कैदीबन्दीहरूलाई अहिले बाहिर निकालेपछि कारागार भित्रको माहोल शान्त भएको जेलर पोखरेलले बताउनु भएको छ । ‘कारागार भित्र होहल्ला भएपछि हामीले चौकीदारसहित १४ जनालाई बाहिर निकालेर राखिएको छ । १४ जनाको हकमा भित्र बस्ने बातवरण नहुने भएपछि उनीहरूलाई अन्यन्त्र कारागारमा पठाउने तयारी गरिएको छ ।’ उनीहरुलाई कहाँ पठाउने भनेर प्रशासन छलफलमा जुटेको छ ।
यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा जेल परेका अभिषेक गिरीलाई मोरङ सरूवा गरिएपछि कैदीबन्दी दिनभरी आन्दोलनमा उत्रिएका थिए । गिरीलाई डिल्लीबजार कारागारबाट मोरङमा गत मंगलबार बिहान साढे पाँच बजे ल्याइएपछि विरोधमा यहाँका कैदीहरूलेहरूले दिनभरी आन्दोलनमा उत्रिए । त्यसबेला चौकीदार गुरूङको नेतृत्वमा यहाँका कैदीबन्दी आन्दोलित बनेका थिए । दिनभरी कैदीबन्दी आन्दोलित भएपछि गिरीलाई सप्तरी कारागारा पठाएको छ ।