विराटनगर   / प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत विपद् कार्यकारी समितिको बैठकले गत कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोबाट प्रदेशमा भएको क्षतिबारे समीक्षा गरेको छ ।

सोमबार समितिका अध्यक्ष तथा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले बाढीबाट भएको क्षति तथा प्रभावलाई मध्यनजर गरेर तत्काल सम्बोधन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

वर्षा र त्यसपछिको डुबान, कटान अनि पहिरोबाट भएको क्षतिको विषयमा समग्र समीक्षा गर्दै पाँचथरको मिक्लाजुङ जोड्ने सडक सुचारु गर्न समन्वय गर्ने निर्णय भएको छ ।

जिल्लास्थित दैवी प्रकोप उद्धार समितिबाट यथाशक्य चाँडै लिने, १४ जिल्लामा विपद्जन्य के के घटना हुन सक्छन् भन्ने जोखिम क्षेत्रको ‘म्यापिङ’ गरेर यकिन विवरण जिल्ला विपद् व्यवस्थापन समितिले १५ दिनभित्र मन्त्रालयमा पठाई सक्ने निर्णय भएको मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले जानकारी दिनु भयो ।

बैठकमा मन्त्री कार्कीले बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहज हुने गरी काम गर्न विपद् व्यवस्थापन समिति सक्रिय हुन निर्देशन दिनुभएको थियो ।

सोमबार नै प्रदेश सुरक्षा समन्वय समितिको बैठक पनि बसेको छ । नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका प्रदेशस्तरीय प्रमुखहरूसहितको बैठकमा समग्र प्रदेशको सुरक्षा, अपराध नियन्त्रण, लागू औषध नियन्त्रणको विषयमा छलफल भएको थियो । बैठकमा मन्त्री कार्कीले अपराध अनि सीमामा हुने चोरी तस्करी नियन्त्रण गर्दै समग्र सुरक्षा व्यवस्था चुस्त बनाउनमाताहतका निकायलाई निर्देशन दिनु भएको छ ।