धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरान–३ स्थित सरस्वती बाल आश्रममा बस्दैं आएका बालबालिकाहरुसँग तिहारमा भेटघाट गर्नु भएको छ । अभिभावकविहिन उक्त बालबालिकाहरुलाई न्याश्रो नलागोस भनेर भेटघाट गरेको मेयर राईले बताउनु भयो ।

शुक्रबार मेयर राईले धरान वडा नं. स्थित बाल आश्रम मै पुगेर आश्रित बालबालिकाहरुलाई भेट्नु भएको हो । आश्रित बालबालिकाहरुसँग मेयर राईले आफ्नो अनुभवहरु साटासाट गर्नु भएको थियो । बालबालिकाहरुले मेयर राईलाई कात्तिक २२ गते शैक्षिक भ्रमणमा जाने जानकारी गराएका थिए । मेयर राईले तिहार, नेपाल सम्वत तथा छठ पर्वको शुभकामना दिदैं बालबालिकाहरुलाई अध्ययनमा निरन्तरता दिन आग्रह गर्नुभयो । शैक्षिक भ्रमणमा जादाँ एक÷एक वटा नोट बुक बोकेर रिपोर्ट गर्न पनि आग्रह गर्नुभयो । मेयर राईले आगामी दिनमा आश्रममा रहेका बालबालिकाका लागि नगरपालिकाले थप सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

आश्रमका पूर्व अध्यक्ष एवं धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य विकास वनेपालीले आश्रममा आश्रित बालबालिकाहरुको शैक्षिक भ्रमणका लागि मेयर राईले ४० हजार रुपैयाँ प्रदान गर्नु भएको जानकारी दिनुभयो । उहाँले कात्तिक २२ गते देखि २८ गतेसम्म पोखरा, लुम्बिनी, पाल्पालगायतको स्थानमा शैक्षिक भ्रमणमा जाने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जनतासँग मेयर कार्यक्रम भने जस्तै आश्रमका बालबालिकाहरुसँग मेयर कार्यक्रम गर्ने भनेर दशै अगाडीदेखि नै कोशिस गरेका थियौं । तर, भाईटिकाको पूर्व सन्ध्यामा भेटघाट तथा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम जु्र्याे ।’ भेटघाट कार्यक्रममा आश्रित बालबालिकाहरुले गायन, नृत्य, बिटबक्स जस्ता प्रतिभाहरु प्रस्तुत गर्नुका साथै देउशी समेत खेलेका थिए । बालबालिकाहरुलाई दक्षिणा स्वरुप मेयर राईले ३ हजार रुपैयाँ दिनु भएको थियो ।