धरान / कोरोना संक्रमण न्युनिकरणका लागि भएको लामो लकडाउनले गर्दा ठप्प भएको भेडेटारको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको छ । यति बेला भेडेटारमा आन्तरिक पर्यटकहरुको आगमन बढेको व्यवसायीहरुले बताएका छन् ।
कोरोना संक्रमण कमहुदै गएको र धेरैले खोप लगाएर आत्मबल बढाएपछि विस्तारैे आन्तरिक पर्यटकहरु साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटार, नाम्जे, ध्वजे डाँडा, नमस्ते झर्ना घुम्न आउने पर्यटकहरु बढेको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनु भयो ।
विस्तारै पर्यटकहरु घुमफिर गर्न पहाडतर्फ उक्लन थालेको र व्यवसायमा पनि चहलपहल बढ्न थालेको व्यवसायीहरुको भनाई छ । भेडेटारमा दुई वटा स्टार होटलहरु खुल्ने चरणमा छन् । पर्यटकहरु आसपासका क्षेत्र घुमाएर सुविधा सम्पन्न होटलमा राख्न यि होटल शुरु भए पछि सहज हुने साँगुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले बताउनु भयो ।
गाउँपालिकाले पर्यटनलाई प्राथमिकता दिएर काम गरि रहेको उहाँले बताउनु भएको छ । पर्यटकहरुका लागि बुटिक जोन, वाईफाई जोनहरु बनाएको छ । फुलबारी जोन बनाउने तयारी भइरहेको छ । गाउँपापलिकाले साँगुरीगढी क्षेत्रका १७ वटा महत्वपूुर्ण स्थानको पहिचान गरि पोइन्ट बनाएको छ । भेडेटार आसपासका क्षेत्र घुम्नका लागि गाउँपालिकाले निकट भविष्यमा यातायातको व्यवस्था गर्ने ६ नं. वडाका वडाध्यक्ष यमप्रकाश मगरले जानकारी दिनु भयो ।
जोगमनी नाका खुल्ला भए पछि भेडेटारमा भारतीय पर्यटकहरु पनि आउन थालेका छन् । प्रदेश १ को पहाडी क्षेत्रको प्राकृतिक सौन्दर्य, जातीय र प्राकृतिक विविधता अनि एडभेन्चर यात्राको अनुभवले भारतीय पर्यटकहरु आकर्षित हुने गरेका छन् ।
भेडेटारको पर्यटनबारे छलफल
झण्डै दुई बर्षदेखि पर्यटन सम्बन्धि औपचारिक कार्यक्रम नभएको भेडेटारमा शनिवार र आइतबार पर्यटनबारे छलफल भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश १ समिति र साँगुरीगढी गाउँपालिकाको सहकार्यमा साँगुरीगढी गाउँपालिकाको पर्यटकी सम्भावना र अवसरबारे छलफल गरिएको हो ।
कार्यक्रममा नाम्जेको होम स्टेबारे नाम्जे थुम्की सामुदायिक होम स्टेका अध्यक्ष अनिल रानाले जानकारी गराउनु भयो । स्वास्थ्य मापदण्ड अपनाएर होम स्टेहरुले सुविधा दिइरहेकाले नाम्जे बास बस्दैं आउन उहाँले आग्रहसमेत गर्नु भयो । ९७ प्रतिशत मगर जातीको बसोबास रहेको नाम्जेमा मगर जातीको मौलिक संस्कृति भाषा परम्परा बुझ्न पनि सकिने रानाले बताउनु भयो । यहाँ करिव ४० जनासम्मको क्षमताको होम स्टे संचालनमा छ ।
कार्यक्रममा होटल एसोशिएसनका अध्यक्ष रुम्दालीले भेडेटारको होटल व्यवसाय र पर्यटकहरुको चहलपहलबारे जानकारी गराउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इक्वाल अहमद, प्रदेश सल्लाहकार विक्रम लुइटेल, महासंघ धनकुटा अध्यक्ष नगेन्द्र राईलगायतले भेडेटारको पर्यटनबारे बोल्नु भएको थियो ।
पत्रकार महसंघ प्रदेश उपाध्यक्ष हिमा चेम्जोङको संयोजनमा भएको कार्यक्रममा १४ वटै जिल्लाका विभिन्न सञ्चार संस्थामा काम गर्ने पत्रकारहरुको उपस्थिति रहेको थियो ।