धरान / नेकपा एमाले धरानको ओली समुहको अधिवेशन स्थलमा युवाहरुले कुर्सी तोडफोड गरेका छन् । उम्मेद्वारको संख्या बढि भए पछि नेताहरुले बन्दसत्र स्थगित गर्ने भने पछि आक्रोसित युवाहरुले कुर्सी तोडफोड गरेको बताइएको छ । उनीहरुले मुलगेट बन्द गरेर नेताहरुलाई बाहिरिनबाट रोकेका थिए ।

धरान १० स्थित सैनिक भवनमा जारी अधिवेशनको उद्घाटन सत्र सकेपछि नेताहरुले बन्दसत्र स्थगित गर्न खोजेको भन्दै युवाहरु आक्रोशित भएका हुन । उनीहरुले बन्दसत्र तत्काल शुरु गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । श्रोतका अनुसार केही प्रदेश नेताका आ आफ्ना मान्छेलाई नेतृत्वमा लान दवाव आए पछि विवाद भएको थियो । व्यक्तिवादी प्रवृति हावी भएको भन्दैं केही युवाहरुले कार्यक्रमस्थलको कुर्सी भाचेको बताइएको छ ।
बन्द सत्रका अध्यक्ष मण्डलका एक सदस्यका अनुसार सांगठनिक प्रतिवेदन पेश गरि बन्द सत्र भने स्थगित गरिएको छ । आर्थिक प्रतिवेदन र नेतृत्व चयनको प्रक्रिया बुधबार गर्ने गरि स्थगित गरिएको उहाँले जानकारी दिनु भयो ।
केन्द्रीय कमिटीको अन्र्तपार्टी निर्देशन अनुसारको कार्यवहाक अध्यक्ष नारायण सुवेदीको समुहसँग सामुहिक अधिवेशन गर्ने भने पनि नेतृत्वको विषयमा कुरा नमिले पछि दुवै समुहले छुट्टाछुट्टै अधिवेशन गरेको थियो । होटल इजिराइडरमा भएको अधिवेशनले भने पुन नारायण सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कमिटी गठन गरेको छ । नेकपा(एमाले)केन्द्रीय सदस्य तथा सुनसरी इञ्चार्ज धर्मराज निरौलाका आतिथ्यतामा अधिवेशन सम्पन्न गरेको थियो । हर्कजंग एभेङ नेतृत्वको समुहले भने भोली बुधबार समिटी गठन गर्ने भएको छ ।

धरानमा २०७५ जेठ २ गते अघि बनेको कमिटी र सर्वोच्च अदालतले नेकपालाई खारेज गरे पछि बनेको कमिटीले छुट्टाछुट्टै गतिविधी गदैं आएको छ ।