• खगेन्द्र कार्की

फत्तेपुर  / सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ५ स्थित गंगाजलीमा निर्माण गरिएको सहिद दिलिप चौधरीको स्मारक स्तम्भको शुक्रबार अनावरण गरिएको छ।
सहिद दिलिप चौधरी प्रतिष्ठानद्वारा निर्माण गरिएको स्मारक स्तम्भको अनावरण प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले गर्नु भयो । स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, पूर्वमन्त्री हेमराज तातेड, सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तमकुमार शर्मालगायतको सहभागीता रहेको थियो ।
पञ्चायती ब्यवस्था विरुद्ध लडेका सहिद दिलिप चौधरीको स्मृतिमा निर्माण गरिएको स्मारक स्तम्भले सहिदप्रति सम्झने काम भएको प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले बताउनु भयो । सोहीअवसरमा सहिद दिलिप स्मृति पत्रकारिता पुरस्कारबाट ३ जना संचारकर्मीहरुलाई पुरस्कृत समेत गरिएको छ । पुरस्कृत हुनेहरुमा न्युज टुडेका सम्पादक बृजमान तामाङ, थरुहट डट कमका सम्पादक मदन चौधरी र पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष नबिन गुप्ता रहनु भएको छ । उहाँहरुलाई जनही रु ११ हजार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीले जानकारी दिनु भयो ।
सप्तरीको तत्कालीन फत्तेपुर गाविसमा जन्मिएका सहिद दिलिप चौधरी बिस २०४२ सालमा बमकाण्डको आरोपमा काठमाडौ स्थित ल क्याम्पसबाट पक्राउ पर्नु भएको थियो । पक्राउ परे लगतै उहाँको हत्या गरिएको थियो । सहिद चौधरीले पञ्चायती ब्यबस्थाको बिरुद्ध बिस २०३६ सालमा सप्तरी जिल्लाको फत्तेपुर कंचनपुर क्षेत्रमा भएको बिद्यार्थी आन्दोलन तथा २०४२ सालको देशब्यापी बम काण्डको अगुवाई गर्नु भएको थियो ।