विराटनगर / नेपाली महिलाहरुको ठूलो चाड हरितालिका तीजको अवसरमा प्रदेश १ का मुख्यमन्त्रि भीम आचार्यले शुभकामना सन्देश दिनु भएको छ ।
विहीबार एक सन्देश जारी गदैं नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा अटल सौभाग्य, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नु भएको छ ।
‘हरितालिका तीजले समाजमा देखिएको विद्यमान महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य‚ समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु ।’–जारी सन्देशमा भनिएको छ ।
तीज पर्वले चेली–माइती‚ साथी–सङ्गी‚ परिवार एवं आफन्तजन बीचको सम्बन्धलाई प्रगाढ बनाएको बताउदै्रंं यस पर्वले समाजलाई समेत भावनात्मक एकताको सूत्रमा बाध्न मद्दत गरेको उहाँले सन्देशमा भन्नु भएको छ । यहाँले हरितालिका तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न सबैलाई आग्रह पनि गर्नु भएको छ । ‘यो पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गदैं यस पर्वलाई एउटा चेली माइतीको भेटघाट, समाज जोड्ने पुलको रुपमा लिई मौलिकता जर्गेना गर्न हामी सबैले भूमिका निर्वाह गर्नु पर्छ ।’–सन्देशमा भनिएको छ । उहाँले कोभिड–१९ का कारण सङ्क्रमणको जोखिम बढेकाले जनस्वास्थ्यका मापदण्ड पालन गरेर चाड मनाउन पनि अनुरोध गर्नु भएको छ ।
नेपाली समाजमा हरितालिका तीज सांस्कृतिक र धार्मिक पर्वका रूपमा महत्वपूर्ण मानिन्छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा‚ उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहदैं आएको छ । तीजलाई विवाहपश्चात महिलाहरू आफ्नो मातापिताको घर छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा समेत तीज पर्वलाई लिने गरिन्छ ।