यो 'लबी'-को युगमा 'लबी'-को अर्थ नबुझ्ने र नजान्ने विरलाकोटि होलान् । प्रतिस्पर्द्धा र प्रतिद्वन्द्वीको युगमा 'लबी' बिना कुनै पनि दुइ खुट्टे मानिस भन्ने जनावर बाँच्न सक्तैन । 'लबी' राजनीतिको मेरुदण्ड हो । 'लबी'-कै बल र बुतामा आजको राजनीति बाँचेको छ । जसलाई केही इच्छा छ तर आफूभित्र न ता कुनै प्रतिभा छ न ता कुनै सीपै छ. त्यस्ता हुतिहारा, पानीमरुवा, मुलन्धरेहरू 'लबी'-को आड़मा माथि उक्लन खोज्छन् । 'लबी'-को आड़मा माथि उक्लन खोज्नेहरूले एउटा कुरा के याद राख्नु अऩिवार्य छ भने,आफूलाई नाफा वा टुटा पर्छ भन्दैमा जसको पनि आङ् मोल्नु नीचता हो । तर ओखती ता कहाँ मीठो हुन्छ र होइन ज्यू ! कसैको लबीभित्र गुजुल्टिनेहरू ती लबीका मुखियालाई रिझाउन तल्लोभन्दा तल्लो तहको सेवा सुश्रूषा  गर्नु पटक्कै हिच्किचाउँदैनन् । तर उनको यो सेवा सुश्रूषा अत्यन्तै गोप्य रुपमा हुने गर्छ । कथङ्कल कसैले पनि यो सुइँको पाए लबीवाल साहेबको यस्तो हुन्छ - "दूध दिने गाईको लात पनि सहनुपर्छ वा काम परेको खण्डमा कोरीको पनि पाउ मोल्नुपर्छ ।"

वाह ! वाह ! क्या डायलग ? अरुको भरले छोरो पाइँदैन । यो साँचो हो, यस्ता लबीभित्र वा लबीको दलदलमा  जाँकिनेहरू 'अर्कोले जोइ बेच्यो त्यो पनि उधारो' भनेजस्तो  हुने गर्छ भविष्यमा । तर के गर्नु हजूर ! के गर्नुहुन्छ ? बोकोको मुखमा कुभिण्डो कहाँ अट्छ र ! संसारभरिकै भूखण्डमा विराजमान रहेका साहित्य, सङ्गीत, राजनीति, सांस्कृतिक संस्था, समाज, क्रिकेट, फुटबल क्लब-संस्था-प्रतिष्ठान आदि सबै नै लबीको मोहनीमा लट्टिएको छ भने तपाईं-हामी औँलामै गन्न सकिनेहरूलाई  लबीको आवश्यकता भइरहेको मेरो छैटौं इन्द्रियले भनिरहेको छ ।

लबी भन्नु नै खासमा एउटा राजनीति हो । राजनीतिमा लब भन्नु चाहिँ महाराजनीति हो । यसकारण, साहित्य, सङ्गीत, संस्कृति, समाज, क्रिकेट, फुटबल क्लब, संस्थाहरूतिर लबी गर्नु भनेको नै अदृश्य राजनीति गर्नु हो । दाहिने हातले सोझै दाहिने कान नसमातेर दाहिने दाहिने हातलाई देब्रेतिरबाट घुमाएर टाउकाको पछिल्तिरबाट दाहिने कान समाते झैं नै हो यो लबी भन्ने राजनीति । यसैकारण, लबी बल-तुजुकमा पञ्जीकृत पानीमरुवा, हुतिहारा अनि मुलन्धरेहरू आफ्नो जुँगा ठाड़ो  पारी ठाँटबाटले हिँड़ेका  ता देख्नुभएकै होला हजूरहरूले । त्यतिमात्र होइन, कुनै पनि लबीभित्र नपस्ने  सोझा-सिधा हरिलट्ठकहरू एबीसी (आबा न चाबा) भएर हिँड़ेका पनि देख्नुभएकै होला ।

कुरा किन लुकाउनु ? लबी बिना एकलकाँटे भइँदोरहेछ । यसैकारण 'जसो जसो बाहुन उसो उसो स्वाहा !' ता गर्नैपऱ्यो होइन र ज्यू ! लबीभित्र नपस्नेहरूप्रति टिठ्याउँदै "लबी एण्ड कम्पनी प्रा. लि." नामक भर्खरै हामीले एउटा संस्था स्थापित गरेका छौं । अऩ्य क्लब-संस्थाजस्तो बाहिर चाहिँ आदर्श र नियम कानूनका कुरा छाँटेर भित्र-भित्रै लबीकै माध्यम अप्नाउने संस्था वा सङ्गठन  पटक्कै होइन यो हाम्रो "लबी एण्ड कम्पनी प्रा. लि." । हामी हाकाहाकी के घोषणा गर्न चाहऩ्छौं भने, हाम्रो यो संस्था लबी गर्नुलाई मात्र स्थापित भएको हो । विशुद्ध लबी, जैविक लबी, यसमा भेजाल कुनै प्रश्नै छैन । एकदम प्यूर ; खाँटी । आफ्नो दुनो सोझ्याउन हामी लबी गर्छौं । लबी गर्न नजान्ने पटमूर्खलाई अनि   लबी गर्न तम्सिने लबी पिपासुहरूलाई हामी लबी गर्ने तालिम दिन्छौं ।

हजूर ! लबी बिना तपाई ठ्याम्मै यो स्वार्थी संसारमा खप्न सक्नुहुन्न । लबी छैन तपाईको प्रतिभा छुमन्तर । यसर्थ लबीको आड़ लिएर एउटा पुरुषार्थ जीवन बाँच्न चाहनुहुन्छ भने, हाम्रो लबी एण्ड कम्पनी प्रा. लि.को सदस्यता ग्रहण गरिहाल्नोस् । लबी एण़्ड कम्पनी प्रा. लि.-मा सदस्यता ग्रहण गर्नका निमित्त निम्न शर्त र नियमावली पालन गर्नुपर्ने हुन्छ -
१. उमेर - जतिसुकै भए पनि चल्छ । उमेर ढल्केकाहरू र छिप्पेकाहरूलाई विशेष प्राथमिकता दिइनेछ । अझ कान थोरै सुन्ने, सामान्य देख्न सक्ने,  हिँड़्न नसक्ने भए उत्तम ।  यस्ता महानुभावहरूलाई ढाल बनाएर आफ्नो दुनो सोझ्याउने योजना छ यो संस्थाको ।
२. शैक्षिक योग्यता - सामान्य अक्षर ज्ञान हुनेहरूलाई प्राथमिकता दिइनेछ । धेर अक्षर ज्ञान हुनेहरूसित हामी थुरथुर छौं ।
३. पेशा - उच्च ओहोदामा भएकाहरूलाई सदस्यता प्रदान गरिने छैन । उच्च ओहोदाको व्यक्तिलाई सदस्यता प्रदान गर्दा हाम्रो मोरालिटी डाउऩ हुने सम्भावना छ । किनभने भेँड़ा भेँड़ासँग, बाख्रा  बाख्रासँ भन्ने उखान ता सुन्नुभएको छ होला । सदस्यको पेशाभन्दा पनि उनको लबी गर्ने क्षमता हुनेहरूलाई तत्कालै सदस्यता प्रदान गरिनेछ ।
४. अन्य योग्यता -साहित्य र सङ्गीतमा हात बसिसकेकाहरूलाई सदस्यता प्रदान गरिने छैन ।  कारण यस लबी एण्ड कम्पनी प्रा. लि.-मा एकाध टपर्टुइय्ये साहित्यकार र सङ्गीतकार छँदैछन् । लाखौं ताराहरूलाई एउटै जूनको उज्याली काफी हुन्छ भने झैं  नाम चलेका जूनजस्ता सङ्गीतकार वा साहित्यकारलाई यस कम्पनीमा सदस्यता प्रदान गरिए हाम्रा लबीका भूइँफुट्टे साहित्यकार र सङ्गीतकार साथीहरू पनि ताराहरू झैं फिका हुने डर हामीलाई छँदैछ ।
५. अनुभव - यस कम्पनीमा सामेल हुन चाहनेले कम्तिको पनि ठूला-ब़ड़ा साहित्यकार एवम् सङ्गीतकारहरूका एक वर्ष झोला बोकेको अनुभव । ठूला-बड़ा साहित्यकार एवम् सङ्गीतकारको धूपौरे भएर उनको सेवामा योगदान पुऱ्याएको प्रमाण पत्र  आवश्यक ।

लबी एण्ड कम्पनी प्रा. लि.-का उद्देश्यहरू -
हामी जान्दछौं, जीवनमा जहिल्यै पनि पछि हुनेहरू नै लबी गर्न सिपालु हुँदछन् । प्रतिभा र अनुभव भनेको प्रतिभा र अनुभवै हो । कसैको प्रतिभा र अनुभवलाई कसैले कसै गरेर पनि छेकावार लाउन सक्दैन । यो प्रतिभा र अनुभव भनेको नै बर्खाको याममा उर्लिने भेल अनि बनमा लागेको डढ़ेलोजस्तै हो ।  तर प्रतिभा र लबीलाई एकमात्र लबीकै माध्यमले निमिट्यान्नै पार्न सकिन्छ । स्वस्थ प्रतिद्वन्द्विता अनि प्रतिस्पर्द्धा गरेर यस्ता प्रतिभाशाली र अनुभवी व्यक्तिलाई कुनै अवस्थामा पनि उछिन्न सकिन्न ।  उछिन्ने एउटै उपाय छ, त्यो के भने, कुनै पनि प्रतिभाशाली अनि अनुभवी व्यक्तिहरूका प्रतिभा र अनुभवलाई लबीको आड़ले वा बलले वा छलले वा ट्याक्टिक्सले हामीजस्ता हुतिहारा, पानीमरुवा, लुम्सा भूइँफुट्टेहरूले जबरजस्ती प्रतिभा र अनुभवको घाँटी निमोठी लबीको तुजुकले ढ्याङ्ग्रो ठट्टाउँदै समाजमा खुट्टा घुमाउनु अनि लाटा-सोझाहरूमाथि बुर्कुसी मार्नु ।

लबी गरेर चोरबाटो हिँड़ेर माथि पुग्नु चाहनुहुन्छ भने झट्टै लबी एण्ड कम्पनी प्रा. लि.-मा सदस्यता ग्रहण गर्नोस् । निम्न टुङ्गोमा आवेदन गर्न सक्नुहुन्छ -
डाइरेक्टर
लबी एण्ड कम्पनी प्रा.लि.
लबी एभेन्यु, मूर्ख अड्डा