धरान । लकडाउन अवधिभर बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कडाई गर्ने गरिने भएको छ । बिहीबार वीपी प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरी शंकर शाहको कार्यकक्षमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारीसहित बसेको सर्वपक्षिय छलफलले प्रतिष्ठानमा कडाई गर्ने निर्णय गरेको हो ।

इलाका प्रशासन कार्यालय धरानका प्रमुख सुबासकुमार लामिछाने भन्नुभयो, ‘धरानमा ४ गतेदेखि १० दिनसम्म कडाईका साथ लकडाउन हुँदैछ । त्यसको तयारीको सिलसिलामा वीपीमा ठूलो संख्यामा विरामीहरु आउने, उनीहरुको व्यवस्थापन गर्न, विरामीको कुरुवाहरुलाई व्यवस्थित गर्न छलफल भयो ।’ उहाँका अनुसार प्रतिष्ठान अगाडी रहेको सबै होटलहरु समेत बन्द गर्ने निर्णय भएको छ । प्रतिष्ठानमा उपचार गर्न आएका विरामी र कुरुवाहरुलाई भित्रै खानाको व्यवस्था गर्ने छ । प्रतिष्ठानभित्रका क्यान्टिनहरु खुला हुनेछ । प्रतिष्ठानभित्र रहेका विद्यार्थी, कर्मचारीहरुलाई लकडाउनको बारेमा सुसुचित गर्न पदाधिकारीसँग छलफल गरिएको उहाँले बताउनुभयो ।

डेपुटी अस्पताल निर्देशक डा. दिव्यराज मिश्राले लकडाउन अवधिभर प्रतिष्ठानमा कार्यरत डाक्टर, नर्श, कर्मचारीहरुलाई आवतजावत गर्न पासको व्यवस्था गरिने बताउनुभयो । गत वर्ष पासको दुरुपयोग भएको कारण यसपटक रुटको आधारमा पास वितरण गरिने जानकारी दिनुभयो । उहाँले छलफलमा प्रत्येक दिन धरानका एक सय जना मानिसहरुको पिसिआर परीक्षण गरिने निर्णय भएको छ । त्यसको लागि उपमहानगरपालिकाबाट सिफारिस ल्याउनुपर्ने छ । प्रतिष्ठानभित्र अत्यावश्यक रुपमा हिडडुल गरिरहेको पाइएमा कार्बाही गरिने उहाँले बताउनु भयो ।

छलफलमा अनुसन्धान अधिकृत सुकित चौधरी, इमरजेन्सी मेडिसिन प्रमुख प्रा.डा. ज्ञानेन्द्र मल्ल, मेट्रोन नर्शिङ सेवा प्रमुख गायत्री राई, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, वडा नं. १७ का वडाध्यक्ष मनोज भट्टराई, अस्पताल प्रशासन सुपरभाईजर अशोककुमार साह, सशस्त्र प्रहरी नायव उपरिक्षक कृष्णकुमार श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरिक्षक भुवनबाबु खड्का, नगर प्रहरी निरीक्षक विष्णु कोईरालालगायतको उपस्थिति रहेको थियो ।