धरान / धरानमा स्थानीय तहले दश दिन लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेर गए पछि धरान उपमहानगरपालिकाका मेयर तिलक राईको अध्यक्षतामा आज (मङ्गलबार) बसेको कार्यपालिकाको बैठकले कडा लकडाउन गर्ने निर्णय गरेको हो ।

धरानमा पनि समुदाय स्तरमा नै फैलिरहेको कारण यसको रोकथामका लागि भदौ ४ गते शुक्रबारदेखि १३ गते आईतबारसम्म १० दिन कडाईका साथ लकडाउन गर्ने उपमहानगरपालिकाले निर्णय गरेको हो ।
केही दिन अघि धरानका क्रियाशिल राजनितिक दलहरुले कोरोना संक्रमित र मृत्युदरको संख्या उच्च भएको भन्दै लकडाउन गर्न संयूक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए । यस्तै, विज्ञहरुले समेत लकडाउन गर्न सुक्राव दिए पछि लकडाउन गर्ने निर्णय गरिएको मेयर तिलक राईले जानकारी दिनु भयो ।
सोमबार प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको उपस्थितिमा आयोजना गरिएको सर्वदलिय तथा सर्वपक्षिय बसेको बैठकले धरानमा दश दिन लकडाउन गर्न सिफारिस गरेको थियो । लकडाउन अवधिभर प्रहरी प्रशासनसँग समन्वय र परिचालन गरि कडाईका साथ लागू गर्ने, लकडाउनलाई कडाईका साथ कार्यान्यन गर्न सबै वडाका टोल विकास संस्थाहरु समेत परिचालन गर्ने निर्णय भएको मेयर राईले जानकारी दिनुभयो । लकडाउनको समयमा औषधी पसल र दुग्धजन्य पदार्थ (पसल नखोली) मात्र बिक्रि वितरण गर्न पाउने भएको छ । यस्तै, प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने, पिसिआर टेष्ट, एन्टिजेन्ट टेष्टलाई बढाउने, लकडाउन व्यवस्थापन गर्न वडा नं. १४, १५, १६ र १७ का वडाध्यक्षहरु समेत रहने गरि एक समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।
यता व्यवसायीहरुले भने लकडाउनको विकल्प खोज्नु पर्ने बताउदैं आएका छन् । उनीहरुले लकडाउन गरेर धरानको व्यापार व्यवसाय धारासायी नबनाउन मेयरलाई आग्रह गरेका थिए । व्यवसायीहरुका लागि लकडाउन अभिसाप भएको सुनसरी उद्योग बाणिज्य संघका पूर्ण अध्यक्ष सरोज श्रेष्ठले बताउनु भयो ।
धरानमा पछिल्लो समय कोराना सङ्क्रमणबाट १४३ जनाको मृत्यु भएको छ । ५ हजार ७० जना संक्रमित भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिनु भयो ।