इटहरी । इटहरीको इतिहासका विभिन्न पक्षबारे उजागर गरिएको पुस्तक इतिहासमा इटहरी आज विमोचन गरिएको छ । नेप्ली मिडिया प्रा।लि।ले प्रकाशन गरेको पुस्तकलाई इटहरीका विभिन्न क्षेत्रका ऐतिहासिक व्यक्तिहरुको उपस्थितीमा विमोचन गरिएको हो ।
इटहरीका पहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथा वर्तमान प्रदेश सांसद सर्वध्वज साँवा, संघीय संरचना पछिकापहिलो मेयर द्वारिकलाल चौधरी, इटहरीका पहिलो फिल्म निर्माता तथा जग्गादाता हेमनारायण चौधरी र इटहरीका पहिलो स्कुल सञ्चालक डेबिट सुब्बाले संयुक्त रुपमा पुस्तक विमोचन गर्नु भएको थियो ।
३३६ पृष्ठको उक्त पुस्तकमा इटहरीको कला, संगीत, साहित्य, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत विभिन्न विषयसँग सम्बन्धित ऐतिहासिक घटनाक्रमहरु समावेश गरिएको छ । वर्तमान अवस्थाका साथै इटहरीको भावि सम्भावनाहरुसमेत पुस्तकले उजागर गरेको छ ।
कार्यक्रमका अवसरमा इटहरीको इतिहासलाई उजागर गर्ने, अभिलेखन गर्ने र विभिन्न समयमा प्रकाशन गर्ने तीन जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । अग्रज पत्रकार कृष्णविनोद लम्साल, अग्रज पत्रकार तथा राजनीतिज्ञ रमेश विष्ट र संगीतकर्मी तथा सामाजिक अभियानकर्मी राजु केसी सम्मानित हुनु भएको छ । तीनै जना इटहरीको इतिहासलाई खोज गरी उजागर गर्ने कार्यमा लामो समयदेखि हुनुहुन्थ्यो । विमोचन कार्यक्रममा बोल्दै पूर्वमन्त्री कुमार सुब्बाले पुस्तकले भविष्यको लागि अझ दायित्व थपेको बताउनु भयो । उहाँले अझ परिस्कृत गर्दै आगामी संस्करण प्रकाशन गर्न सुझाव दिनु भयो ।
यस्तै पूर्व मेयर सर्वध्वज साँवाले इटहरीको लागि महत्वपूर्ण पुस्तक प्रकाशन भएको र यसले धेरै विषय समेटेको बताउँदै कुनै विषय छुटेका भए पुनर्लेखन गरेर समेट्न सुझाव दिनु भयो ।
यस्तै इटहरीका मेयर द्वारिकलाल चौधरीले पुस्तक प्रकाशन भएकोमा सह्रना गर्दै यो ऐतिहासिक उपलब्धी भएको बताउनु भयो । इटहरी बन्नमा सबैको योगदान रहेको कुरा किताबमा समेटिएको पाइएको बताउँदै उहाँले इटहरीका विभिन्न स्थानहरुको नामाकरणबारे चर्चा गर्नुभयो ।
विभिन्न पार्टी तथा संघसंस्थाका प्रतिनिधि र विभिन्न क्षेत्रका नगरवासीहरुको उपस्थिती रहेको कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश सदस्य तथा आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष राम राई, एमाले नगर अध्यक्ष यामकुमार सुब्बालेसमेत शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा नेप्ली मिडिया प्रालिका निर्देशक तथा पुस्तकका संकलक तथा सम्पादक हिमाल दाहालले पाँच वर्षको तयारीमा पुस्तक प्रकाशन भएको जानकारी दिँदै धेरै नगरवासीहरुले सहयोग गरेको बताउनु भयो । उहाँले पुस्तकमा भएका कमी कमजोरीलाई सच्याएर अर्को संस्करण प्रकाशन गर्नेसमेत बताउनु भयो । उहाँले इतिहासलाई बेलैमा अभिलेख गर्नसमेत आग्रह गर्नु भयो ।