धरान / यही साउन १५ गते दार्चुलामा जयसिंह धामीलाई तुइन काटेर एसएसविले बेपत्ता पारेको घट्ना यति बेला बहसमा छ । हुन त भारती एसएसवीको ज्यादतीका घट्ना यो नौलो होइन । सिमा क्षेत्रमा बेलाबेलामा यस्ता ज्यादती एसएसवीले गदैं आएको छ । मुलुक भर यस्ता सयौ घट्ना भएका छन् तर नेपाल सरकारले ती ज्यादती विरुद्ध कुनै कुटनितिक पहल, छलफल नै गर्न सकेको छ ।
विगतमा सुनसरी र मोरङमा पनि यस्ता ज्यादती दोहोरीएका थिए । सुनसरीको कोसी गाउँपालिका हरिपुर गाउँमा नेपाल–भारत दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ९ मंसिर २०७२ विहान चलाएको गोली लागेर चारजना नेपाली घाइते भए । स्थानीय अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएका थिए । नेपाली भूमिमा प्रवेश गरेर गोली चलाएको सुपौल वीरपुरस्थित तत्कालीन एसएसबी ४५ बिग्रेडका कमान्डरले स्वीकार गरेका थिए । यस घटनामा नेपाल सरकारले भारतसँग कारण माग्यो, तर कुनै जवाफ भारतले नेपाललाई दिएन । उनीहरूले कुनै क्षतिपूर्ति, उपचार खर्च अहिलेसम्म पनि पाएका छैनन् ।

नेपाली भूभागमा प्रवेश गरी गोली प्रहार गर्ने तत्कालीन सुपौल जिल्लाको शैलेशपुर प्रहरी बिटका विकान्त सारावतसहित ६ जनाको समूहविरुद्ध कारबाहीको माग राखेर सुनसरी प्रशासनमा किटानी जाहेरी दिए पनि गोली प्रहार गर्नेहरूविरुद्ध कुनै कानुनी कारबाही भएन ।

सुनसरीको भन्टाबारीआसपासका क्षेत्रमा बसोवास गर्दै आएका नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गाउँ छाड्न धम्की दिँदै आएक छन् । सुनसरीको कोसी गाउँपालिकास्थित हरिपुर, श्रीपुर सीमाक्षेत्रका गाउँमा बस्दै आएका नेपालीलाई भारतीय सुरक्षाकर्मीले सीमास्तम्भ सारेर भारतीय भूमिमा बसोवास गरेको भन्दै नेपालीलाई वास उठाउने धम्की दिने क्रम निरन्तर छ । त्यसका विरुद्ध नेपाल सरकारले केही बोल्न सकेको छैन् ।

मोरङको विराटनगरसँग सिमाना जोडिएको भारतीय जोगबनी बजारबाट साइकलमा खाना पकाउने ग्यास लिएर आउँदै गरेका विराटनगर– २२ का ४५ वर्षका युसुुफ मियाँलाई पैसा माग्दा नदिएपछि एसएसबीका जवानले २२ असार २०७२ कुटपिट गरे । मरासन्न हुने गरि कुटिएका मियाँले अझैसम्म न्याय पाएका छैनन् ।

साउन २०७८ विराटनगर महानगरपालिका– १७ इस्लामपुरमा भारतीय बजार जोगबनीबाट बगेर आएको पानी निकास गर्नका लागि स्थानीयलाई आफ्नै नेपाली भूमिमा नाला निर्माण गर्न एसएबीद्वारा रोक लगायो । वर्षाको समयमा भारतीय बजार जोगबनीबाट नेपालतर्फ दशगजामा नाला निर्माण गरेर भारतले पठाएको पानीको डुबानबाट जोगिन विराटनगर महानगरपालिकाले इस्लामपुर बस्तीमा नाला निर्माण थालेको थियो । यस विषयमा नेपाल सरकारले केही बोल्न सकेन ।

२०७४ सालमा मोरङको शनिश्चरेमा भारतीय सीमावर्ती सिक्टी थानाका प्रहरी आएर एक नेपालीलाई पेस्तोल देखाएर मोटरसाइकलमा राखी अपहरणको प्रयास गरेका थिए । स्थानीयको प्रतिकारमा उनीहरुको योजनाविफल भएको थियो ।

सात वर्षअगाडि मोरङको रंगेली क्षेत्रमा भारतीय प्रहरीहरूले नेपालभित्र आएर स्थानीयलाई कुटपिट गरे । १ जेठ २०६७ साँझ ९ बजे भारत अररिया जिल्ला कुवाडी थानाअन्तर्गत पर्ने गरैया गाउँस्थित लैलोखर बेस क्याम्पबाट सादा पोसाकमा हतियारसहित साँझ नेपाल छिरेका एसएबीका इन्स्पेक्टर हितेन्द्र सिंह र अर्का एकजना जवान नेपाल छिरे । उनीहरूले मोरङको अमाहिवरियाती चौकीका हवल्दार शम्भु चौधरीसँग झगडा गर्दै उनको हत्या गर्ने प्रयास गरेका थिए । झगडा छुट्याउन पुगेका दशगजा क्षेत्रमा बस्दै आएका धनपालथान गाउँपालिका– २ का ५५ वर्षीय वासुदेव साहमाथि भारतीय सुरक्षाकर्मीले रिस पोख्दै गोली हाने । स्थानीय समाजसेवीका रूपमा पनि चिनिएका सामान्य जनमन गरी आफ्नो परिवार पाल्दै आएका साह एसएसबीको गोलीबाट घटनास्थलमै मारिएका थिए ।
यि सुनसरी र मोरङमा एसएसबिले गरेका ज्यादतीका प्रतिनीधि घट्ना मात्र हुन । सिमा क्षेत्रमा नेपालीहरु त्राहीमान भएर जीवन बाँचिरहेका छन् ।