धरान / सुनसरीको बराहक्षेत्र नगरपालिका–३ हर्दियामा छिमेकी महिलालाई एसिड प्रहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरी र महानगरीय प्रहरी वृत्त गौशालाको सहकार्यमा असार १५ गते स्थानीय ३० बर्षीय रोमन राजधामीलाई काठमाण्डौंको गौशाला क्षेत्रबाट पक्राउ गरेको हो । एसिड आक्रमण(कुटपिट वा अंगभंग सम्बन्धी कसुर) मुद्दामा सुनसरी जिल्ला अदालतबाट पक्राउ परेकै दिनबाट लागु हुने गरि सोमबार ७ दिनको म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिनु भयो ।
घटना विवरण अनुसार यही साउन १२ गते राती रोमन र उनकी २८ बर्षीया श्रीमति सरु भन्ने सरस्वती बस्नेतबीच चुरोटको बिषयमा झगडा भएको थियो । रोमनले श्रीमतिलाई एसिड प्रहार गर्न खोजेका थिए । उनी ज्यान जोगाउन भागेर छिमेकी श्यामकुमारी धामीको घरमा पुगिन । हातमा एसिडको बोतलसहित रोमनले ढोका खोल्नदवाव दिए । ढोकामा लात्ती प्रहार गरेपछि छिमेकी श्यामकुमारीले म्झाई बुझाई गर्ने क्रममा श्यामकुमारीलाई टाउको र अनुहारमा एसिड प्रहार गरेका थिए । श्यामकुमारीलाई एसिड प्रहार भएपछि छुट्याउन आएका छिमेकी सुमन राजधामी र सुजन राजधामीलाई पनि एसिडको छिटा लागेर दुवै सामान्य घाइते भएका थिए । राजबंशी सोही दिनदेखि फरार थिए ।
एसिडले गम्भीर घाइते भएकी श्यामकुमारीलाई भने विराटनगरस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको छ ।
फरार राजधामीले आफ्नै घरमा पितलबाट बनाइने त्रिशुल, बालालगायतका सामग्री निर्माण गर्दै आएका थिए । निर्माण सामग्रीका लागि एसिड आवश्यक हुँदा उनकै घरमा एसिड उपलब्ध थियो ।
केही वर्षदेखि मादक पदार्थ सेवन गरी रातको समयमा मानसिक तनाव दिने र कुटपिट गर्ने गरेको आरोपी रोमनकी श्रीमती सरस्वती राजधामी (बस्नेत)ले बताउनु भएकाे छ । प्रहरीमा उजुर गर्छु भन्दा झन्न् कुट्ने एसिड छर्की दिन्छु भनेर तनाव दिने गरेको उहाँकाे भनाई छ ।