धरान / धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिती सुधारका लागि ४६ दिनदेखि आन्दोलनरत संयुक्त संघर्ष समितिले बुधबारदेखि अस्पतालको सेवामा हाजिर नहुने चेतावनी दिएको छ ।
शुक्रबार सरोकारवालाहरुसँग जुम मिटिङ गरेर बुधबार भित्र पनि प्रतिष्ठानको समस्या समाधान नगरे प्रतिष्ठानका सेवामा हाजिर नहुने जानकारी गराएका हुन । प्रतिष्ठानको समस्याका विषयमा प्रधानमन्त्रीको कार्यालयका सचिव बैकष्ठ अर्यालको संयोजकत्वमा जाँचबुझ समितिले अध्ययन गरेर फर्केको एक साता वितिसक्दा पनि निकासका लागि सरकारले कुनै कदम चालेको छैन् ।
शुक्रबार आन्दोलन गरेको ४६ औं दिन पुग्दा यहाँको समस्या सदनदेखि सडकसम्म पुग्यो तर समाधानका लागि भने हालसम्म कतै पहलकदमी भएको छैन् । केही दिन अघि संघीय संसदमा सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राईले प्रतिष्ठानको समस्याबारे उठान गर्नु भयो । यस्तै प्रदेशसभा सदस्य सावित्रा जोशीले पनि प्रदेश १ को सभामा उठान गर्नु भयो । अखवारहरुमा यहाँका पदाधिकारीहरुको लावारवाही र यहाँको बेथितिबारे समाचार आइरहेका छन् । तर सरकारले जिर्ण बन्न लागेको बिपी प्रतिष्ठानबारे हालसम्म बोल्न सकेको छैन् ।
सरकार चुप लागेर बसेकै कारण आन्दोलनरत चिकित्सकहरु ७२ घण्टे अल्टिमेटम दिदैं सुधार्न चेतावनी दिएका हुन । शुक्रबार जुम मिटिङ मार्फत नागरिक समाज, राजनीतिक दलका नेता, माननीय, पत्रकारलगायतलाई जानकारी गराएको संघर्ष समितिका संयोजक डा. एसपी रिमालले जानकारी दिनु भयो । मिटिङमा पूर्व स्वास्थ्य मन्त्री तथा संसदीय स्वास्थ्य परामर्श समितिका संयोजक खगराज अधिकारी, महिला अधिकारकर्मी सरु जोशी श्रेष्ठ, प्रदेश सांसद सावित्री श्रेष्ठ, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठलगायतको सहभागिता रहेको थियो । मिटिङको सहजिकरण डा. पदम नेपालीले गर्नु भएको थियो ।
प्रतिष्ठानमा ४६ औं दिन आन्दोलन हुदाँसम्म संघीय सरकारका मन्त्री प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य क्षेत्र हेर्ने उषाकला राई कोही पनि फर्केर नआएको विद्यार्थी कल्याण समाजका उपाध्यक्ष पदम नेपालीले गुनासोसमेत गर्नु भयो ।
बुधबारदेखि प्रतिष्ठानको सेवा ठप्प पार्ने विषयमा सुनाउन नेपाली काङ्ग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, धरान क्षेत्रका सांसद मीन विश्वकर्मा, डा. बाबुराम भट्टराई, उमिता बराईलीलगायत आमनत्रण गरिए पनि उपस्थिति जनाउनु भएन ।
७२ घण्टे अल्टिमेटमको जानकारी तथा खवरदारीका लागि शनिवार साँझ वृहत ¥यालीको आयोजना गरिएको संघर्ष समितिले जनाएको छ । ‘सभ्य रुपमा हामीले खवरदारी गरिरहौं आज ४६ औं दिन पुग्यो तर सरकारले सुनेन । ५१ औ दिनसम्म नपुगोस् भन्ने हाम्रो चाहान छ ।’– संघर्ष समितिका संयोजक रिमालले भन्नु भयो–‘अवका ७२ घण्टासम्म पनि सुनुवाई नभए हामी काम छाड्न बाध्य हुने छौं । तर हाम्रो आशा अझै मरेको छैन् त्यो दिन नआवस् ।’