धरान । धरानमा कोभिड –१९ सङ्क्रमण तिब्र गतिमा फैलिए पछि धरान उपमहानगरपालिकाले सरोकारवालाहरुसँग छलफल शुरु गरेको छ ।
विहीबार उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा सरोकारवालासँग बसेको बैठकले रोकथाम तथा नियन्त्रण गर्न केही दिनसम्म भिडभाड हुने स्थान र कोरोना सङक्रमणबाट बढी प्रभावित हुने क्षेत्रमा कन्ट्रयाक्ट ट्रेसिङ गरिने भएको छ ।

सचेतनाका लागि माईकिङ गर्ने, मास्क अनिवार्य लगाउन पनि सचेतना गर्ने भएको छ । यस्तै, भानुचौकलगायत धरानको मूख्य चौकहरुमा निजि सवारी साधनहरुलाई पार्किङ गर्न पनि नदिने निर्णय भएको छ । मेयर तिलक राईले पछिल्लो समय धरानमा कोरोना सङक्रमण दर दिदिनै बढ्दैं गएको बताउनुभयो । दुई, चार दिनपछि पनि स्थिति जस्ताको तस्तै रह्यो भने फेरि सर्वपक्षीय छलफल बसेर थप कडाईका साथ लकडाउन गर्न सकिने उहाँले बताउनु भयो । बैठकमा उपमेयर मञ्जु भण्डारी, कार्यकारी अधिकृत विदुर प्रसाद खनाल, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी, नगर प्रहरी, सुनसरी उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी, महाशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।