धरान । । धरान उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाले शारीरिक रुपमा अशक्त व्यक्तिलाई ह्वीलचियरसहित आवश्यक सामग्री वितरण गरेको छ ।
शारिरिक रुपमा अशक्त भएका व्यक्तिहरुलाई ह्वीलचियर, वैशाखे, ट्वाईलेट ह्वीलचियर, एल स्टीक, हियरिङ एड आज वितरण गरेको हो । उक्त सामग्री धरान उपमहानगरपालिकाको सभाहलमा मेयर तिलक राईले वितरण गर्नु भयो ।

मेयर राईले अपाङ्गता रोकथाम तथा पूर्णस्थापना कार्यक्रम अन्तर्गत प्रदेश सरकार, धरान उपमहानगरपालिका र करुणा फाउण्डेसनको संयूक्त साझेदारीमा सञ्चालनमा ल्याइएको बताउनुभयो । धरान भरि रहेका शारिरिक रुपमा अशक्त व्यक्तिहरुलाई, उनीहरुकै माग अनुसार भौतिक सामग्री वितरण गरिएको छ । ‘यदि तपाईको छिमेकमा तपाईकै आफन्त, तपाई जस्तो कोही छुटेको छ भने पनि उहाँहरुलाई पनि सम्पर्कमा ल्याउन आग्रह गर्छु । यो कार्यक्रम तपाईहरुकै लागि ल्याएको हो । यो तपाईहरुको अधिकार हो । अधिकार पाउनबाट कोही पनि बञ्चित नहुनुहोस् ।’–राईले वितरण गदैं भन्नु भयो । अपाङ्ग भएर विरामी भएकालाई उपचारका लागि वडा वडामै सामाजिक विकास महाशाखासँग समन्वय गरेर सहजकर्ता तथा प्राविधिक डाक्टरहरुलाई खटाईने मेयर राईले बताउनुभयो ।
धरानमा दुई, चार दिनपछि फेरी पनि लकडाउन गर्नुपर्ने स्थिति बन्दै गएको मेयर राईले बताउनुभयो । ‘शारिरिक अपाङ्गता भएकाको लागि भ्याक्सिन पनि आउँदैछ । हामी सुचना जारी गर्छौ । भ्याक्सिन लगाउन कोही पनि नछुट्नु होला । भ्याक्सिन लगाउने केन्द्र तोकेर हामी तपाईहरुलाई खबर गर्छौ । भ्याक्सिन लगाउन अत्यन्तै जरुरी छ । कोरोनाबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि भ्याक्सिनप्रति विश्वास गर्न पनि अनुरोध गर्छु,’ मेयर राईले भन्नुभयो ।

उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख प्रज्ञादेवि निरौलाले ५६ जना, ह्वीलचियर, ट्वाईलेट ह्वीलचियर ५ जना, एल स्टीक ५६ जना र हियरिङ एड ५ जनालाई आज वितरण गरिएको जानकारी दिनुभयो । प्रदेश सरकार, धरान उपमहानगरपालिका र करुणा फाउण्डेसनको संयूक्त साझेदारीमा सञ्चालनमा ल्याएको यसको सम्झौता ३ वर्षको रहेको छ । वार्षिक रुपमा ७२ लाख रुपैयाँ बजेट छुट्याएर यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । एक वर्ष सकिएको उहाँले जानकारी दिनुभयो । गत चैत २१ गतेदेखि वैशाख २० गतेसम्म धरानका १२ स्थानमा केन्द्र तोकेर अशक्त व्यक्तिहरुको स्वास्थ्य शिविर गरिएको थियो । गत वर्षको असारबाट यो कार्यक्रम सुचारु हुनुपर्ने हो । कोरोनाका कारण गत पुषदेखि सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । सामाजिक विकास महाशाखाका अनुसार धरानमा लगभग ११ सयदेखि १२ सयको हाराहारीमा असक्त व्यक्तिहरु रहेका छन् । उनीहरुलाई ४ वर्गमा विभाजन गरेर कार्ड वितरण गरिएको थियो । केही दिनअघिमात्र उनीहरुलाई क वर्ग रातो, ख वर्ग निलो, ग वर्ग पहेलो र घ वर्ग सेतो कार्ड वितरण गरिएको जनाएको छ । अझै खोजी गर्नका लागि सामाजिक विकास महाशाखाले १० जना सहजकर्ता खटाइएको उहाँले जानकारी दिनुभयो ।