फत्तेपुर / अविरल वर्षाका कारण आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहरको बाँध भत्काएको छ । मुलुककै जेठो र ठूलो नहर स्थानिय जुटपानी ,सत्रापत्र ,अमहा, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले सोमबार बाँध राती  भत्काएको हो ।
चन्द्रनहर दुइ ठाँउमा भत्काएको स्थानिय दिपेन्द्र दहालले जानकारी दिनु भएको छ । उहाँका अनुसार दुई स्थानमा गरी करिब ५० मिटर नहर भत्किएको छ। नगर क्षेत्रमा रहेका खहरेखोला खोलाको बाढी ओभरफ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनाएको छ ।
बाढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका करिब ३ सय घर डुबानमा परेका छन्। नगरप्रमुख उत्तम कुमार शर्माका अनुसार सप्तकोसी नगरपालिकाका वडा न १, २, ४ र ११ का अधिकांश घरहरु ढुवानमा परेका छन् । ती घरहरुमा ३ फिटसम्म पानी जमेको छ ।

chandra nahar यस अघि २०७४ साउन १४ गते राती सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित नहरको डिल भत्किएको थियो । नहरको डिल भत्केपछि किसानले लगाएको धानबालीमा पानी पस्दा त्यहाँका करिब पाँच सय बिगाहभन्दा बढी धानबाली डुबानमा परेको थियो । मानवीय क्षेति भने भएको थिएन ।

त्यो बेला नहर करिब २५ मिटर जति डिल भत्केको स्थानीय सूर्यनारायण मण्डलले बताउनुभयो । बेलाबेलामा गरिनुपर्ने मर्मतसम्भार समयमा नगरेकाले अहिले वर्षा भई पहाडी जिल्लाबाट पानी आएर नहरमा क्षमताभन्दा बढी पानी पसेपछि भत्काने गरेको छ । ठूलो पानी परे पछि नहरको डिलआसपास घर हुनेहरु त्रासमा बस्ने गरेका छन् ।