धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठन गरेको जाँचबुझ समितिले अध्यनयन शुरु गरेको छ । सोमबार प्रतिष्ठान पुगेर आन्दोलनरत पक्ष, पदाधिकारी, कर्मचारी तथा सरोकारवालाहरुसँग छलफल शुरु गरेको छ ।
असार १ गतेदेखि प्रतिष्ठानलाई शुद्धि करण गर्न माग गदैं चिकित्सक, कर्मचारी, विद्यार्थी र नर्सिङहरु आन्दोलनरत गरिरहेका छन् । उनीहरुसँग असार १५ गते वार्ताको क्रममा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मदिरा सेवन गरेर आएको भन्दै वार्ता बहिष्कार गरे पछि दुई पक्ष विच वार्ता हुन सकेको थिएन । आन्दोलनकारीहरुले चारै जना पदाधिकारीहरुको राजिनामा माग गर्दै कार्यकक्षमा तालाबन्दी गरेका छन् । संयुक्त संघर्ष समितिले पदाधिकारीहरुसँग वार्ता नगर्ने र सहकुलपति वा कुलपतिस्तरबाट गठित उच्चस्तरीय समितिसँग मात्र वार्ता गर्ने अडान लिए पछि सरकारले प्रधानमन्त्री एवं मन्त्रीपरिषद कार्यालयका सचिव डा. वैकुण्ठ अर्याल संयोजक रहेको वार्ता टोलीको नेतृत्वमा जाँचबुझ समिति बनाएको हो ।
समितिले अध्ययन थाले पछि आन्दोलनरत संघर्ष समितिले आन्दोलनको कार्यक्रमहरुलाई केही परिमार्जित गरेको छ ।

जाँचबुझ समितिलाई काम गर्न सहज वातावरण बनाउन, विश्वासको वातावरण तयार गर्न र बिरामीले दुःख नपाउन् भनेर मंगलबारदेखि भने पूर्व निर्धारित आन्दोलनका कार्यक्रमहरूलाई केही परिमार्जित गरेको पनि संघर्ष समितिका संयोजक डा. एसपी रिमालले जानकारी दिनु भयो ।
उहाँका अनुसार संघर्ष समितिका अनुसार बिहान ८.१० बजेसम्म उपकुलपति कार्यालय अगाडी प्रदर्शन गर्ने र पदाधिकारीको कार्यकक्षमा तालाबन्दी यथावत रहनेछ । तर, विहान ८.१० सम्म कोभिड, इमर्जेन्सी र पूर्व निर्धारित परीक्षा बाहेकका सेवाहरु बहिष्कार गर्ने कार्यक्रम भने फिर्ता लिएको छ ।

समितिले अध्ययन प्रतिवेदन सार्वजनिक नगर्दासम्म आन्दोलन र खबरदारीका कार्यक्रमहरु जारी रहने उहाँको भनाई छ ।
जाँचबुझ समितिलाई आन्दोलनरत पक्षले प्रतिष्ठानमा चिकित्सा शिक्षा आयोग र सम्बन्धित काउन्सिलले तोकेका निश्चित मापदण्ड समेत पूरा नभएको भन्ने सम्बन्धमा सम्बन्धित नियामक निकायलाई तत्काल निरिक्षण गर्न आग्रह गरेको छ । असार १५ गते उपकूलपति कार्यालयमा घटेको घटनाको तत्काल छानबिन प्रक्रिया अघि बढाउन र प्रतिष्ठानका उपकुलपतिको प्राध्यापक पदको सम्बन्धमा सत्यतथ्य तत्काल सार्वजनिक गर्न उनीहरुको माग रहेको छ । ‘यि विषयलाई समितिले गम्भीरता पूर्णक लिएर उठान गर्ने छ भन्ने हामीले विश्वास लिएका छौं ।’–डा. रिमालले भन्नु भयो ।