धरान / सुनसरीको कोशी गाउँपालिकाबाट एक आपसमा झगडा गरिरहेका दुई दाजुभाईलाई प्रहरीले हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी वल ४ नम्बर गण सुनसरीको टोलीले शनिवार कोशी गाउँपालिका ५ स्थित कुम्याहीबाट ४८ बर्षीय विद्यानन्द यादव र ४६ बर्षीय चन्द्रदेव यादवलाई पेस्तोलसहित पक्राउ गरेको हो । उनीहरु विहानै एक आपसमा झगडा गरेका थिए । गोली हानेर उडाई दिने धम्कीसहित झगडा गरेको पाइए पछि स्थानीयले सशस्त्र प्रहरीलाई सूचना दिएको बताइएको छ । जग्गाको विषयमा उनीहरुविच विवाद भएको थियो ।
सूचनाको आधारमा सशस्त्र प्रहरीको टोली पुगेर उनीहरुलाई नियन्त्रणमा लिएको थियो । घरमा छापा मार्दा नजिकको आँपको रुखमुनि लुकाई राखेको एक थान कटुवा पेस्तोल र एक थान गोली पनि वरामद गरिएको सशस्त्र प्रहरी वल ४ नम्बर गण सुनसरीका प्रमुख एसपी माधव पौडेलले जानकारी दिनु भयो ।
सशस्त्र प्रहरीले शनिवार नै नेपाल प्रहरीलाई कारवाहीका लागि बुझाएको छ । उनीहरुलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुर अन्तर्गत कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सञ्जय सिंह थापाले जानकारी दिनु भयो ।