धरान / यति बेला नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको सरागर्मी बढेको छ । जिल्ला, नगरमा नेतृत्वका लागि उम्मेद्वारी घोषणा हुन थालेका छन् ।
सुनसरीमा जिल्लाको नेतृत्वका लागि लभिङ शुरु भएको छ । सनुसरीमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शेखर कोइराला तथा विजय गच्छदार खेमा देखिएको छ ।
नेपाली कांग्रेस जिल्ला सभापतिका लागि हालका उपसभापति सञ्जय श्रेष्ठ, सचिव केदार भण्डारी, जिल्ला सदस्य प्रदिप चौधरी र पूर्व मन्त्री सीताराम मेहताको नाम चर्चामा छ । श्रेष्ठ र मेहता देउवा पक्षका हुन् । भण्डारी पौडेल–कोइराला पक्षका मानिन्छन् भने चौधरी गच्छदार निकटका मानिन्छन् । उनीहरु टिकटका लागि दौडधुप गरिरहेका छन् । कांग्रेसका एक जिल्ला नेताका अनुसार श्रेष्ठ र भण्डारी विच प्रतिष्पर्धा हुने बताउनु भएको छ ।
यता जिल्लाका दुई उपमहानगरपालिकामा पनि चुनावी सरागर्मी बढेको छ । धरान उपमहानगरपालिकामा तीन जनाको नाम चर्चामा छ । हालका नगर सचिव श्याम पोखरेल, पूर्व नगर सभापति किशोर राई र अजय राईले यति बेला प्रचार प्रसार व्यापक रुपमा गरिहेका छन् ।

डा. शेखर कोइराला निकट रहेका पोखरेल हालका नगर सभापति तथा मेयर तिलक राई निकट रहनु भएको छ । धरानका पुराना नेता अजय राई र किशोर राई भने देउवा निकट रहेको बताइएको छ । तीनै जना हाल प्रचार प्रसारमा व्यस्थ रहनु भएको छ । टिकटका लागि केन्द्रमा आ–आफ्नो पक्षबाट लभिङ गरिरहनु भएको छ । श्रोतका अनुसार नगरको टिकट किशोर राईलाई दिएर हालका धरान उपमहानगरका मेयर रहनु भएका तिलक राईलाई फेरी मेयरमा दो¥याउने भद्र सहमति गर्ने तयारी भएको पनि चर्चा चलेको छ । तर पार्टीमा लामो समय काम गर्नु भएका पोखरेल र अजय राई कार्यकर्ताहरुले नयाँ पुस्तालाई चाहेको भन्दैं आफ्नो उम्मेद्वारी नछाड्ने बताउँदैं आएका छन् ।
यता जिल्ला अर्को ठूलो उपमहानगरपालिका इटहरीमा नगरसभापतिमा हालकै सभापति हेमकर्ण पौडेल र विद्यार्थी राजनीतिबाट आएका विकास केसी सभापतिका आकांक्षी रहेको बताइएको छ । त्यो बाहेक हालका नगरसचिव प्रकाश बस्नेत,उपसभापति शिव दाहाल,कोविदजंङ् कार्कीले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ । श्रोेतका अनुसार हालकै सभापति पौडेल र केसी बीच नै चुनावी प्रतिष्प्रर्धा हुने एक जिल्ला नेताले बताउनु भयो ।