धरान धरान उपमहानगरपालिकाको नवौं नगरसभाले आर्थिक वर्ष २०७८÷०७९ को लागि २ अर्ब ३ करोड ६४ लाखको बजेट पारित गरेको छ ।
शनिबार सम्पन्न नगरसभाको तेश्रो बैठकले बजेट तथा विनियोजन विधेयक (व्यय) पारित गरेको हो ।
बैठकमा विधेयक प्रस्तुतकर्ता उपमेयर भण्डारीले सदस्यहरुले उठाएको कुरा प्रष्ट पार्नुभएको थियो । सम्पन्न नगरसभा बैठकमा अर्थ तथा सार्वजनिक लेखा समितिका संयोजक नरेशकुमार इवारमले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

नगरसभाका सभाध्यक्ष समेत रहनु भएका मेयर तिलक राईले विधेयक पारित गर्न प्रस्ताव गरेपछि ध्वनी मतले सर्वसम्मत रुपमा बजेट तथा विनियोजन विधेयक पारित भएको थियो । मेयर राईले नगरसभा सदस्यहरुलाई शुन्य समयमा आफ्नो जिज्ञासाहरु राख्नु दिनुभएको थियो । उनीहरुको जिज्ञासा सुनेपछि मेयर राई सम्बोधन समेत गर्नु भएको थियो । साथै, मेयर राईले बैठकमा हाल उपचाररत वडा नं. २ की सदस्य सन्ध्या श्रेष्ठको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । साथै, नगरसभामा अनिवार्य पोसाक लगाएर आएका सदस्यहरुलाई प्रति व्यक्ति ५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री प्रदान गर्ने प्रतिवद्धता गर्दै मेयर राई नवौं नगरसभा सम्पन्न भएको घोषणा गर्नु भयो ।