धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बैकल्पिक अक्सिजन व्यवस्थापनका लागि लिक्विड अक्सिजन ट्याङ्की निर्माण गरेको छ ।
२० हजार लिटर क्षमताको अक्सिजन ट्याङ्की नेपाल सरकारको ८० लाख बजेटबाट प्रतिष्ठानले स्थापना गरेको हो । यसको ठेक्का शंकर अग्रवालले पाउनु भएको थियो । यो विहीबारबाट परीक्षण शुरु गरिएको वायोमेड इन्जिनियर प्रदिप साहले जानकारी दिनु भयो । प्रतिष्ठानमा एक मात्र प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन गर्ने क्षमताको अक्सिजन प्लान्ट रहेको छ । तर उक्त प्लान्ट विग्रिएर मर्मत गर्दा अस्पतालमा अक्सिजन आपूर्तिमा समस्या हुदैं आएको थियो ।
यो ट्याङकी स्थापना भए पछि मुख्य अक्सिजन प्लान्ट बिग्रदा वा मर्मतको लागि बन्द गर्नुपर्ने अवस्था आउदा लिक्विड अक्सिजन ट्याङ्कीबाट अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाइएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिनु भयो ।
कोभिड अस्पताल तथा प्रतिष्ठानको अकास्मिक कक्ष, वार्डहरुमा पाइपलाइनबाट कनेक्सन गरिएको उहाँले बताउनु भयो । ‘मुख्य अक्सिजन प्लान्टलाई मर्मत गर्नु परेको बेला यस ट्याङ्कीबाट बैकल्पिक व्यवस्थापन गरिन्छ । यसले झण्डै एक सातासम्म अक्सिजन धान्छ ।’–सहप्रवक्ता पोखरेलले भन्नु भयो–‘अव मुख्य प्लान्ट विग्रियो वा उत्पादनमा घटबढ भएमा र तत्काल अक्सिजन सिलिण्डर पनि अभाव भएमा यही ट्याङ्की मार्फत काम चलाइने छ ।’
केही समय अघि प्रतिष्ठानमा भएको एक मात्र अक्सिजन प्लान्ट मर्मत गर्नु पर्ने अवस्था आउदा अस्पतालमा अक्सिजन अभाव सृर्जना भएको थियो । सो समयमा कोभिडका विरामी प्रभावित भएको थिए । अव भने प्रतिष्ठानले यस्तो अभाव खेप्न नपर्ने पोखरेलको दावी छ ।