धरान / निर्वाचन भएको लामो समय पछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुको साझा संस्था दन्त चिकित्सा तथा चिकित्सक कल्याण समाजको नयाँ पदाधिकारीहरुको पद हस्तान्तरण भएको छ ।

गत जेठमै सम्पन्न भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको पदस्थापना भएको थिएन । बाल रोग विशेषज्ञ डा. अरुणकुमार सिंहको नेतृत्वमा भएको टिमको सोमबार पदस्थापना भएको छ ।

समाजको उपाध्यक्षमा डा. लोकेश शेखर जयसवाल, महासचिवमा डा. आरती शर्मा, सहसचिवमा डा. विजयकुमार श्रीवास्तव, कोषाध्यक्षमा डा. राम विलक्षण साह रहनु भएको छ ।

त्यसै गरि सदस्यहरुमा डा विजय साह, डा. कुणाल विक्रम देव, डा. दीपेन्द्र मिश्रा, डा.सोहनकुमार साह, र डा. सुवास बस्नेत रहनु भएको छ । निवर्तमान अध्यक्ष डा. विष्णु पोखरेलले पद हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा निर्वाचन प्रमुख प्राडा विक्रम श्रेष्ठले नयाँ समितिलाई सपथ खुवाउनु भएको थियो । सबैसँग सशकार्य गरेर चिकित्सक, शिक्षकहरुको हकहितका लागि जिम्मेवार भएर टिमले काम गर्ने नव नियुक्त अध्यक्ष सिंहले बताउनु भयो । उहाँले प्रतिष्ठानमा भइरहेको समस्या तत्काल समाधान गर्नसमेत सरोकारवालाहरुसँग आग्रह गर्नु भएको छ । शिक्षा र स्वास्थ्यजस्तो पवित्र मन्दिर बिपी प्रतिष्ठानमा जे भइरहेको छ त्यो राम्रो नभएकाले जिम्मेवार निकायले ततकाल समाधान गर्नु पर्ने उहाँको भनाई छ ।