धरान / धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको अवस्था ठिक नभएको बताउनु भएको छ । मदिरा पिएर वार्तामा बसेको र वार्ता भाँडिएको खवर आए पछि प्रतिष्ठानका सिनेटरसमेत रहेका मेयर राई प्रतिष्ठान पुगेर २ घण्टा भन्दा बढी उपकुलपतिसहित उपस्थित पदाधिकारीहरुसँग छलफल गर्नु भएको थियो । उहाँले आन्दोलनरत पक्षसँगको कुरा सुनेपछि भित्र पुगेर मापसे परीक्षण गर्न कि आन्दोलनकारीलाई सम्बोधन गरेर सम्झाउन आग्रह गरेको बताउनु भयो । त्यतिकै आरोप लगाएको हो भने पनि सबै पदाधिकारीहरुको पनि मेडिकल जाँच गर्न आग्रह गरेको उहाँले बताउनु भयो ।

‘हामीले पटक पटक भन्यौं, यो नैतिकताको कुरा हो । डाक्टर, विद्यार्थी, कर्मचारीले नैतिकताको कुरा उठाए, वार्तामा पदाधिकारीले मदिरा सेवन गरे भन्ने नैतिकताको कुरा भएकाले जसरी पनि मेडिकल टेष्ट गर्नु पर्छ भनेर भन्दा पनि उहाँ मान्नु भएन । अरजकता बढ्छ भनेर पञ्छनु भयो ।’–मेयर राईले भन्नु भयो । प्रतिष्ठानका रेक्टर प्राडा गुरु खनाल र रेजिष्टार प्राडा मोहनचन्द्र रेग्मीले स्वीकार गरेको तर उपकुलपतिले भने नमानेको उहाँको भनाई छ । 
‘रजिष्ट्रार, रेक्टर र उपस्थित अन्य पदाधिकारीबाहेक उपकुलपति ज्युको व्यवहार अरुबेला भन्दा फरक लाग्यो । उहाँले मादक पदार्थ सेवन गरेजस्ता व्यवहार देखाउनु भएको थियो ।’–मेयर राईले भन्नु भयो । ७ बजे प्रतिष्ठान पुगेका मेयर राईले दुर्य घण्टा छलफल गर्नु भएको थियो । साथमा उपमेयर मञ्जु भण्डारी, डिएसपी नरेन्द्र कुँवर पनि हुनु हुन्थ्यो । भित्रबाट कुनै सहमति नआए पछि आन्दोलनरत चिकित्सकहरुले सम्बोधन गदैं सबैलाई घर जान आग्रह गर्नु भएको थियो ।
राती अवेर सम्म पनि उपकुलपति गिरी मापसे परीक्षणा गर्न तयार नभए पछि बुधबार पदाधिकारीहरूको कार्यकक्षमा तालाबन्दी गरि सशक्त आन्दोलन गर्ने गरि चिकित्सक, कर्मचारीहरू बाहिरीएका थिए । संघर्ष समितिका संयोजक डा.रिमाल, सहसंयोजक डा.विष्णु पोख्रेलले सम्बोधन गर्दै अनसनमा बसेकाबाहेक सबैलाई घर फर्कन आग्रह गरेका थिए । साथै, उपकुलपति डा.गिरीलाई सुरक्षितरुपमा क्वार्टरसम्म पुर्याइदिन उनीहरुले प्रहरीलाई पनि आग्रह गरेका थिए ।
प्रहरीले उपकुलपतिलाई संरक्षण गरेको भन्दैं प्रहरी विरुद्ध पनि चिकित्सकहरुले नारावाजी गरेका थिए । प्रहरीले दवन गरेको उनीहरुको आरोप छ । बोली लरवरीएका उपकुलपतिलाई राती नै उहाँको घर विराटनगर प्रहरीले पठाएको बताइएको छ ।

प्रतिष्ठानमा विगत १५ दिनदेखि यहाँको बेथिति, अनियमितता सुधारको अभियान स्वरुप चिकित्सकहरु आन्दोलन गरिरहेका छन् । तीन दिन अघिदेखि रिले अनसन गरिरहेका छन् । नागरिक दवाव सञ्जालले पनि खवरदारी गरिरहेको छ । यहाँको समस्याबाट भागेर उपकुलपति भने १८ दिन देखि धरान बाहिर रहेका थिए । सोमबार आएका उपकुलपति गिरीले मंगलबार चिकित्सकहरुसँग वार्ता गर्न पत्र काटेका थियो । प्रतिष्ठानमा मौलाएको बेथिती सुधार्न गर्न असफल भएको बेला पछिल्लो समय उनले नपाएको प्राध्यापक पद आफैं नामको अगाडि लेखेर झुटो विवरण दिएको भन्दै विवादमा तानिएका थिए । सो विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोगमा उजुरी समेत परेको छ ।