धरान / सरकारवादी रहेको जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपीलाई जमानतमा छोडाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठकै प्रत्यक्ष संलग्नता देखिएको घटनाप्रति प्रदेश १ का दलित अगुवाहरुले विरोध जनाएका छन् ।
प्रदेश १ का दलित अगुवाहरुले शुक्रबार आयोजना गरेको भर्चूअल छलफल कार्यक्रममा बोल्दै दलित अधिकारकर्मी तथा सामाजिक अगुवाहरुले मन्त्रीको विरोध जनाउँदै रुपा सुनारलाई न्याय दिलाउन जस्तोसुकै गतिविधि गर्न तयार रहेको चेतावनी दिए ।
दलित भएकै कारण काठमाण्डौ बबरमहलकी सरस्वती श्रेष्ठले कोठा दिन नसक्ने बताउनु भएको आरोप छ । जातीय भेदभाव तथा छुवाछुतको भावसहित कोठा नदिएका कारणसहित रुपाले प्रहरीमा मुद्धा दायर गनुृ भएको थियो । प्रहरीले घरबेटी श्रेष्ठलाई पक्राउ गर्यो । तर, देशका बहालवाला शिक्षामन्त्रीले नै अभियुक्तलाई छुटाउन प्रहरी विरुद्ध नारा लगाउने र छुटाउन दवाव दिएको विषयलाई प्रदेश १ का दलित अगुवाहरुले विरोध जनाउँदै शिक्षामन्त्री श्रेष्ठलाई कारबाहीको माग गरेका छन् ।
कार्यक्रममा डिबी शाह शंकर, सोमनाथ पोर्तेल, कुमार सिवा, नैन विश्वकर्मा, इन्द्रमाया बराइलीलगायतले भेदभावको घटनामा राज्यको तर्फबाट पीडकलाई सहयोग गर्ने शिक्षामन्त्रीलाई कारबाही नगरे कडा संघर्षका कार्यक्रमहरु ल्याउने चेतावनी दिनु भयो ।

यता प्रदेश १ का दलित अगुवाहरुले भेदभाव गर्ने घरबेटी र भेदभाव तथा छुवाछुतको घटनालाई उक्साहट दिने शिक्षामन्त्रीलाई कारबाहीको माग गर्दै विज्ञप्ति समेत जारी गरेका छन् । प्रदेश १ का १ सय २० बढी दलितको सवालमा काम गरिरहेका संस्था तथा व्यक्ति (दलित अगुवा)हरुले कारबाही प्रक्रिया अघि नबढाए जस्तोसुकै संघर्षको कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएका छन् ।
बैठकले नेकपा एमालेका नेता डिवी शंकर शाहको संयोजकत्वमा आन्दोलन समितिसमेत गठन गरेको छ । शाहका अनुसार सहसंयोजकमा सुमनसिंह परियार, सचिवमा उमेश विश्वकर्मा रहनु भएको छ ।