धरान / प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले संविधानले जनतालाई सार्वभौम बनाउन स्थानीय सरकारलाई राज्य शक्तिको प्रयोग गर्ने अधिकार दिएको छ बताउनु भएको छ । सभामुख भण्डारीले आफ्नो शासन आफै गर्ने, अधिकारको स्रोत आफै हुने तथा कानुन बनाउने अधिकार प्राप्त गरेको स्थानीय तहले उपल्ला तहलाई देखाएर पन्छिन मिल्ने अवस्था नरहेको विचार व्यक्त गर्नुभयो ।
धरान उपमहानगरपालिकाको नवौं नगर सभालाई समबोधन गर्नु हुदै सभामुख भण्डारीले धरान संभावना धेरै भएको नगर भएको तथा संभावना सँगै चुनौतीहरु पनि उत्तिकै रहेको उल्लेख गर्नु हुँदै संभावनाहरुको बिचबाट चुनौतीहरुको समाधान खोज्दै अवसहरु निमार्ण गर्दै समृद्ध धरान निमार्णको साझा लक्ष्य पुरा गर्न सबै प्रकारका आग्रह पूर्वाग्रहबाट माथी उठेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।।
सुनसरी उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न नगर सभालाई सम्बोधन गर्ने क्रममा उहाँले पर्यटनका दृष्टिले धरान किन जाने किन बस्ने भन्ने प्रश्नको उत्तर दिन सक्ने अवस्थामा हामी छौ कि छैनौ भन्ने प्रश्नलाई धरानले ख्याल गर्नु पर्ने बताउनु भयाे । 
 स्थानीय तहमा जनप्रतिनिधिहरूले नीति, कार्यक्रमलगायत विकास, निर्माण र कार्यशैलीजस्ता पक्षहरूमा कत्तिको जनता प्रति दायित्वबोध, जवाफदेहिता, पारदर्शिता तथा सिर्जनशीलताका साथ जिम्मेवारी निर्वाह गरिरहेका छन भन्ने विषय नजिकबाट चासो र चिन्ताकासाथ नियालिरहेको बताउदै नागरिकका यि चासो र चिन्ताको कसीमा निस्कलंक उत्रिदै पुनः जनताका बिचमा जानु छ भन्ने यथार्थलाई जनप्रतिनिधिहरुले बिर्सनु नहुने विचार व्यक्त गर्नुभयो ।।
नगर सभामा उपप्रमुख मञ्जु भण्डारीले कुल २ अर्ब ३ करोड ६४ लाखको बजेट पेश गर्नु भएको थियो । यो बजेट चालु आर्थिक बर्ष २०७७/७८ भन्दा करिब ३१ करोड बढी हो । चालु आर्थिक बर्षको बजेट १ अर्ब ७२ करोड ५४ लाख ४१ हजार ४ सय ४० रहेको थियो । आगामी आर्थिक बर्षको बजेटमा धरानको २० वटा वडाको लागि २८ करोड बजेट विनियोजन गरिएको छ । वडालाई दिइएको यो बजेट चालु आर्थिक बर्षको भन्दा ४ करोड बढी हो । मेयर कोषमा १ करोड २० लाख, मर्मत कोषमा ५० लाख, आकस्मिक कोषमा ३० लाख विनियोजना गरिएको छ भने चालु भैपरी आउने खर्चमा २० लाख र विपद व्यवस्थापन कोषमा १ करोड बजेट विनियोजन गरिएको छ ।
नगर सभाको सञ्चालन सभाध्यक्ष नगर प्रमुख तिलक राईले गर्नु भएको थियो भने उपप्रमुख मञ्जु भण्डारीलेआगामी आर्थिक बर्षं २०७८, ७९ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्नु भएको थियो । सभामा प्रदेश सभाका माननीय सदस्य उमिता वराइलीको पनि उपस्थिती रहेको थियो । नगर सभाको अर्को बैठक असार १९ गते बैठक बस्नेछ।