पहिलो दृश्य -
[स्थान - एस आर सप । कमानबाट आधा बेला छुट्टी मागेर महिनावरी राशिन थाप्ने हुद्दामा रहेकाहरूमध्ये सबैभन्दा जेठी र अनुभवी साइँलीदिको नेतृत्तवमा मरिचफूल, कमलछी, धुरपाती, गमसफूल, कुशनारायण प्रधान, मिनास, पञ्चमती, आइतराज, धनलछी, रनमाया, हस्ते, पञ्चबहादुर, जिरनफूल, धनसरी, जसमाया, सञ्चरानी, माइतरानी, तेजहाङ, विपाते, सुनकुमार, च्याप्टे, टुकबीर, छोम्ले, होम्बे, सिट्टे, जुल्फे, फुर्कमान, रिट्ठे, फिष्टे, तस्वीरे, टुकुने, छलिमाया, मरिचफूल, पञ्चमाया, रसफूल, चुर्सी, गम्भीरमाया, न्याउरी, सूर्यमति, जुन्किरी, टिकमाया, च्याउँकीहरू कमानको बाटोमा दिल्लगी गर्दै बाह्र गोलाइ एम आर सप अघि आइपुग्छन् । सोसियल डिस्टेन्सको ख्यालै नराखी कोही पानी पिउन थाल्छन् अनि कोही सुर्ती माड़्न थाल्छन्  भने कोही आ-आफ्नो मोबाइल खेलाउऩ थाल्छन् । ]

साइँलीदि (भीरमध्येबाट जुरूक्कै उठेर बघिनीजस्तो गर्जिँदै) हेर...हेर...के साह्रो अटेरी हौ !  एई तरूणी-तन्नेरी हो...तिमेरू मान्छेको भाँड़ो हो कि के के ठाँड़ो हो हँ । हन तिमेरू किन एकै ठाउँ गुजुल्टिएर बसेका हँ पिशाचहरू ! सोशल धिन्ताङ भनेको यही हो ?
जुल्फे (गल्ती सुधार्दै) साइल्दि सोसियस डिस्टेन्स हौ ।
साइँलीदि (झिँझेट मान्दै) को नि है ! जा उता । तिमेरू जेसुकै भन् म ता सोशल धिन्ताङ नै भन्ने हो । (सबै फरक फरक बस्न थाल्छन्) तेजहाङ, विपाते र सुनकुमार तिमीहरू सबै भएर सबैको राशिन कार्ड बटुली जा काउण्टर बुझाइदेओ ।
सिट्टे (साइँलीदिलाई घोंच्दै) सोसियल धिन्ताङ्को पनि याद राख है साथी हो ।
साइँलीदि (रनक्क रन्किएर) एई सिट्टे ! तैंले मलाई घोंचेको ? (कानपुरे बुट देखाउँदै) अहिले एई कानपुरे बुटले भुँड़ीमा दिएर भित्रका जुकालाई तीन ठुन्का पारिदिन्छु र पो ता ! (सिट्टे लाजमर्दो भएर कुनातिर लाग्छ) मलाई धेर नचला है केटा हो ।
तेजहाङ लु...लु सबैको राशिन कार्ड हामीलाई देओ । (सबैले आ-आफ्नो कार्ड तीनभाइका हातमा सुम्पन्छन् ) ।
सुनकुमार आमामा....चो गमसफूलको राशिन कार्डको गति हेर ।
विपाते आफू ता हप्तैपिच्छे पार्लर गएर कम्ति राम्री भएर आउँछे । एउटा राशिन कार्ड पनि स्याहार्न नसकेकी हेर ।
गमसफूल (प्याच्चै बोल्दै) कोनि कोनि । म पार्लर गाकी तिमीहरूलाई आँखा लागेको कि म राम्री भएको देखी नसहेको ?
आइतराज त्यसो नभन न गमस् बैनी । यो कमानभरि तिमीभन्दा राम्री ता को छ र अब ? तिम्रो रूप देखेर हामीलाई गर्व लाग्छ ।
हस्ते (गीतको लयमा) के राम्रो जोबन हेरिरहुँ भन्छ नि आँखाले, आँखैमा बिलाउने को हो गमसफूलको रूप बनाउने ?
तेजहाङ गमस् बैनीको सबै ठिक छ तर (राशिन कार्ड देखाउँदै) यो चैं भएन है ।
गमसफूल कोनि है कोनि ! राशिन कार्डलाई पनि पार्लर लानु कि क्या हो ?
पञ्चबहागुर (झोला देखाउँदै विस्तारो) गमस् बैनी जाँड़ लेको छु खाने ?
साइँलीदि भयो भयो । ख्यालख्याल गर्दा गर्दै यिनीहरू झगड़ा पर्छन् । पञ्चे तँ जाँड़ खुवाउनु आको कि राशिन लिनु आको ? के साह्रो चलाका यिनेरलाई गमसेलाई । ऐले लाजमर्दो गरी के के भन्देली अन्त चाख्लाऊ । भयो... भयो चूप गमस् तँ पनि घेर नबोल् रूप्पीजस्तो । (सबै मौन)
गमसफूल (लाड़े पल्टिँदै) हेर्नु न साइँली बड़ी । यिनारले मलाई जिस्काइबस्छन् ।
साइँलीदि केटाहरूको जातै हो जिस्काउने । चूपो लागि बस् न भैगो ता । खै उहिले मलाई तँलाईभन्दा धेर जिस्काउने । टेँड़पुच्छर लाउदिनँ थिएँ ।
तेजहाङ उहिले ता हाम्री साइँलीदिले पनि फाँड़ेकी हो नि हई !
साइँलीदि अन्त के ता ! कतै जाँदा एम्बुलेन्स लिएर हिँड़्थेँ क्या ! (सबै गललल हाँस्छन्) ।
गमसफूल (छक्क परेर) एम्बुलेन्स ! किन नि ?
साइँलीदि मेरो रूप देखेर बेहोश हुनेहरूलाई टिप्दै एम्बुलेन्समा हाल्नुलाई नि ।
कुशनारायण अहिले पनि के कम्ति र हाम्री साइल्दि ।
साइँलीदि (कड़्केर छोप्दै जान्छे) नकरा एई कुशे । आगोमा घिउ हाल्ने काम नगर्। ऐले तेरा.....

दोस्रो दृश्य -
 [स्थान - निकै तल डाँड़ा गाउँमा क्यापटन बड़ाको चिया दोकानभित्र सबै पस्छन्]
पल्टने बड़ा आमामा ! आज ता बटालियन पो छ ता ! जुलूस थियो कि क्या हो ?
साइँलीदि लकडाउनमा पनि कुन चैं गोरू जुलूसमा जान्छ हौ पल्टने भाइ । राशिन थापेर आको नि ।
पल्टने बड़ा हाम्री राम्री गमसफूल बैनी पनि रहिछ ।
गमसफूल तपाईले मलाई मात्रै देख्नुभो ? जिरनफूल, धनसरी, जसमाया, सञ्चरानीहरलाई चैं देख्नुभएन ?
पल्टने बड़ा यो पल्टनेको आँखा कहिल्यै फेल खान्छ ? गमस् मैयाँको यिनीहरूसित तुलना कहाँ हुन्छ ? यी तरूणीहरू तारा हुन् भने गमस् भनेको जून ।
हस्ते लाखौं ताराहरूका उज्यालोलाई एउटैजूनको उज्यालीले फिका पार्छ होइन र क्यापटन बड़ा ?
क्यापटन बड़ा एब्सुलेटली राइट ।
गमसफूल (गिज्याउँदै) हस्ते सिमेण्टको बस्ते । (साइँलीदिको मोबाइलको रिङ्टोन बज्छ । मोबाइल लिएर बाहिर निस्कन्छे । अरू सबै आ-आफ्नै धुनमा चियापानी खान थाल्छन् ।)

तेस्रो दृश्य -
(स्थान -चियाबारीको डिलमा बसेर साइँलीदि मस्त भएर मोबाइलमा बात गरिरहेकी छन् ) ।
साइँलीदि हल्लो ! ए काकी बोल्नुभाकी ? ढोगेँ काकी । लकडाउनमा पनि काममा ता नागा बस्ने चान्स छैन । तपाई बजारेहरूलाई पो ढुक्कै । मर्निङ वक सकेपछि दिनभरि घरभित्र बस्यो, टिभी हेऱ्यो । हाम्रोतिर कामैकाम । वस्तुभाव पालेपछि अहिलेघरि फारस झाड़ीतिर नगै भएऩ । साथी भाइको साथ लाग्नैपर्छ नत्र चितुवा भालू बँदेलहरूको छाक हुन्छ । हाते कोशेलीको लागि फेरि यसो अलिअलि हाते चियापत्ती नबनाई भएऩ ।
काकी (बिचैमा कुरा काटी) त्यहाँ सोसियस डिस्टेन्स कस्तो छ ता ? त्यैमाथि डरलाग्दो हुरी बतास पनि चल्छ भन्दैछ । यताउती नकुदी घरभित्र जोगिएर बस है भन्नुलाई फोन गरेको नि ।
साइँलीदि आँ...मर्नु नै छ भने मरिदिउँला नि । हामीले हाम्रो पहाड़मा कस्ता कस्ता हुरी बतासको सामना गऱ्यौं भने यो नाथे हापेनलाई कहाँ टेरिन्छ हौ ? हामी ता पूरै प्रिपेड छौं । त्यो आइला कि माइँलालाई ता टेरेनौं । नाथु यो कोरोना र हापेनलाई एकैचोटि उठीवास लाउँछौं नि काकी ।
काकी (भुतुक्कै हाँस्दै) हापेन होइन अमफान हौ साइँली अमफान ।
साइँलीदि कस्तो आतङ्कवादीजस्तो नाम हई ? (फोन काटिन्छ । तर्सिने गरी
हल्लो गरिबस्छिन् ।)

चौथो दृश्य -
(चिया पसलभित्र)
होम्बे आज ता खाजा पनि फ्री होइन क्यापटन साहेब ?
गमसफूल आमामा....यो होम्बे दा के साह्रो हई । सबै कुरो तिमीलाई चैं फ्री कहाँबाट हुन्छ हौ ।
क्यापटन बड़ा मर्ने बेलामा यसले कात्रो पनि फ्री खोजिहिँड्छ ।
गमसफूल फ्री पाको राशिन बेचेको पैसा निकाल न ।
होम्बे कहाँ बेचेँ हौ ।
क्यापटन बड़ा के गरिस् त्यत्रो आँटा चामल....
होम्बे आधा सुङ्गुर बाख्रा कुखुरालाई अनि आधा अलुवाको चैँ  भाँती जाँड़.,..
म्याउँची त्यै ता तर मर्चा पो नपाएर कस्तो पीर परिराको छ । मर्चाको पचास रूपियाँ माग्छ अन्त ।
क्यापटन बड़ा (बिचैमा कुरा काटेर) त्यति दाममा ता किन्नैपर्छ नि । भन्नु उसो होइन कि यो लकडाउनले ता धेरैलाई फायदा पो गरेको छ । राशिनपानी, सब्जी फ्री । मासु भन्नु  वल्लो डाँड़ा पल्लो डाँड़ा प्रशस्तै काटिहाल्छ । प्रत्येकको घरमा भाँती जाड़ वालछ्याल् । अरू के चाहियो ?
जुल्फे जाँड़ले तमाम् गोर्खाहरूका शरीरको भित्री भाग पूरै सेनिटाइज हुँदैछ । अरू के चाहियो गोर्खेलाई ? खाएर रन्थनिएपछि शोक न सुर्ता भोक न भकारी ।
क्यापटन बड़ा हन सरकारले हामीलाई निःशुल्क अलुवा चामल भात खानु फ्री दिएको कि जाँड़ बनाउनु देको हँ !
च्याउँकी सरकारले किन यसरी निःशुल्क राशिन देको होला हई ?
जुल्फे त्यो चैं सरकारलाई नै सोध । तर यो फ्री देको चैं सरकारले कुन दिन काँचै निकाल्छ नि ।
क्यापटन बड़ा च्याउँकीको कुरा ठिकै हो । लकडाउनमा कोही पनि भोकले नमरून् भनेर दिएको । विचारा सरकारलाई हामीले सम्झिनुपर्छ ।
जुल्फे (व्यङ्ग्य हाँस्दै) सरकारलाई सम्झिनु ? त्यो पनि दिनरात ? अरूलाई ता कोनि क्यापटन बड़ा टु बी भेरी फ्र्याङ्क्ली मलाई चैं जाँड़ खाएर रनक्क हुँदा मात्र सरकार र मेरो प्यारो गोर्खाल्याण्डको याद आउँछ । अरू बेला गमसफूलको मात्र याद आइरहन्छ । गमसफूल देखेपछि के को बोर्ड, के को गोर्खाल्याण्ड । (सबै गललल हाँस्छन् । गमसफूल आँखा तर्छेे ) ।
क्यापटन बड़ा राशिन पानी सञ्चय गरिराख्नुपर्छ । नत्र पछि धोका होला है साथी भाइ हो धोका हालो ।
छोम्ले अजिङ्गरको आहार दैवले पुऱ्याउँछ । यो लकडाउनमा तेल नून बाहेक केही किन्नु पर्दैन अन्त ।
जुल्फे तैंले ठिक भनिस् छोम्ले तर मर्चा डबल दाममा किन्नु परेको कुरा सरकारलाई थाहा छ ?
गमसफूल सरकारले जाँड़ खाए पो थाहा होस् । मर्चा पनि फ्री दिनुपर्ने ?
जुल्फे अफकोर्श । हात्ती छिऱ्यो पूच्छर अड़्क्यो किन गर्ने ?
क्यापटन बड़ा हन फ्री चामल चैँ  सरकारले तिमारलाई जाँड़ खानु देको नि भात खानु देको ?
जुल्फे सरकारले हामीलाई भातै खानु भनेर एग्रिमेण्ट गरेको छ ?
गमसफूल बाई चान्स गरेको भा ?
जुल्फे जस्तोसुकै एग्रिमेण्ट गरे पनि त्यो बाँदरको पूच्छर लौरो न हतियारजस्तै हुने यो ठाउँमा फ्री चामलको जाँड़ बनाउँदा गोर्खाहरूको जात ता शायद नजानुपर्ने ।
क्यापटन बड़ा जात ता किन जान्थ्यो र ! खानु देको चामल जाँड़ बनाको कथङ्कल सरकारले थाहा पायो भने हामी सबैलाई जाँड़ बोर्डमा गाभ्छ  नि फेरि ।
छोम्ले जस्तोसुकै बोर्ड बनाए पनि हामी पहाड़ेहरूलाई कानो गोरूलाई औंसो न पूर्णे । क्यापटन बड़ा एनि हाउ यो मर्चा चैँ फ्री गराऊ ।
गमसफूल (जुल्फेको मुख लोपार्दै) ईस दिन्छ होला फ्री मर्चा । हामीलाई ता मर्चा जाँड़ बनाउने काम लाग्छ । तल मधेशकाहरूलाई चैँ  फ्री मर्चाको के काम ?
छोम्ले हामी पहाड़ेहरूलाई जाँड़ बनाउनु तल मधेशकाहरूलाई माँड़ बनाउनु ।
गमसफूल अम्मुई ! औंलो दिँदा डुड़ुलो निल्ने !!!
मूल पर्दा खस्छ ।
(प्रकाशोन्मुख कमेडी "लकडाउन कमेडी"-बाट) । [email protected]