धरान । गोर्खा सेमेट्री ट्रस्ट हङकङले धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालनमा रहेको आइशोलेसन सेन्टरलाई पाँच थान पोर्टेवल भेन्टिलेटर उपलब्ध गराएका छन् ।

हरियाली आइशोलेसन सेन्टर परिसरमा मङ्गलबार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय खेलकुद परिषद्का निर्देशक समेत रहेका नेपालस्थित गोर्खा सेमेट्री ट्रस्टका अध्यक्ष महेन्द्र राईले धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नु भएको हो । धरान १९ स्थित हरियाली सामुदायिक भवनको आवास गृहमा उपमहानगरपालिकाले २५ शैयाको आइशोलेसन सेन्टर सञ्चालन गरेको छ । जसमा नेपाल पत्रकार महासंघ सुनसरीको समेत समन्वय रहेको छ ।

मेयर तिलक राईले कोभिड १९ संक्रमित विरामी राख्नका लागि हरियालीमा आइशोलेसन सेन्टर सञ्चालन गरिएको बताउनुभएको छ । मेयर राईले कोरोनासँग लडन साथ सहयोगको भावना जरुरी रहेको बताउँदै गत वर्षको तुलनामा यसवर्ष मानिसहरुमा डर त्रास कम भएको बताउनुभयो । “पोहोर हरियालीमा आईशोलेसन सेन्टर बनाउँदा निक्कै ठूलो छलफल गर्नुपर्यो, दुई, चार पटक आएर छलफल गरेपछि घेराबार लगाएर आइशोलेसन सेन्टर बनायौं, त्यसताका हामि पनि आतंकीत थियौं, संक्रमित विरामीले केही पो गर्ला कि भनेर हरेक कोठामा सिसि क्यामेरा राखेका थियौं , अहिले त्यस्तो छैन, सिसि क्यामेरा अहिले बाहिर राखिएको छ”, मेयर राईले भन्नुभयो ।
धरानको आइशोलेसन सेन्टरलाई गोर्खा सेमेट्री ट्रस्ट हङकङले अत्यन्तै महत्वपूर्ण सामग्री सहयोग गरेको भन्दै मेयर राईले धन्यवाद प्रकट गर्नु भएको छ । अहिले धरान उपमहानगरपालिकामा कोभिड १९ सम्बन्धी सम्पूर्ण कुराहरुमा सबैको सहकार्यमा रहेको जानकारी दिनुभयो । साथै, मेयर राईले वीपी प्रतिष्ठानको हाताभित्र सञ्चालनमा रहेको कोभिड अस्पताल बाहिर विरामीको आफन्तका लागि कुरुवा घर निर्माण गरिएको बताउँदै हस्तान्तरण गर्न बाँकी रहेको सुनाउनुभयो । उपमहानगरपालिकाको संयोजनमा ३२ लाखमा निर्माण गरिएको कुरुवा घर हस्तान्तरण गर्ने तयारी भईरहेको मेयर राईले बताउनुभयो । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग उपमहानगरपालिको सहकार्य रहेको बताउँदै मेयर राईले भने, “भोलिकोे दिनमा आइशोलेसन सेन्टरमा भेन्टिलेटरको आवश्यक परेन, वीपीको कोभिड अस्पतालमा विरामीलाई आवश्यक पर्यो भने हामीले त्यहाँ पनि हस्तान्तरण गर्न सक्छौं ।”

नेपालस्थित गोर्खा सेमेट्री ट्रस्टका अध्यक्ष महेन्द्र राईले भेन्टिलेटर अभाव भइरहेको बेला ट्रस्टले आर्थिक संकलन गरेर देशभरका विभिन्न अस्पताल तथा आईशोलेसन सेन्टरहरुमा पोर्टेवल भेन्टिलेटर वितरण गरिएको जानकारी दिनुभयो । गोर्खा सेमेट्री ट्रस्ट हङकङले नेपाल सरकारलाई पहिलो चरणमा ५० थान पोर्टेवल भेन्टिलेटर सहयोग गरेको सुनाउँदै अध्यक्ष राईले आवश्यक परेका अस्पताल तथा आइशोलेसन सेन्टरहरुमा गोर्खा सेमेट्री ट्रष्ट नेपालले आफै वितरण गर्न थालेको बताउनुभयो । सोही अभियान अन्तर्गत धरानको आइशोलेसन सेन्टरलाई पाँच थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

यसैगरी, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले धरान उपमहानगरपालिका र पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालन भएको आइशोलेसन सेन्टरमा उपमहानगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको मेयर राईलाई धन्यवाद दिनुभएको छ । कोभिड १९ को दोश्रो लहरसँग जुध्नका लागि गोर्खा सेमेट्री ट्रस्ट हङकङले आईशोलेशन सेन्टरलाई भेन्टिलेटर सहयोग गरेको बताउँदै प्रशंसा गर्नुभयो ।

कार्यक्रममा सोही वडाका वडाध्यक्ष पूर्ण लिम्बु, वडा नं. १८ का वडाध्यक्ष प्रविण राई (नरेन्द्र), वडा नं. २ का वडाध्यक्ष माधव गोविन्द श्रेष्ठ, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता लगायतको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।