काठमाडौं / ह्योल्मोभूमि हेलम्बु हुँदै मंगलबारदेखि आएको बाढीले इन्द्रावती मेलम्ची लगायतका करिडोर क्षेत्रमा ठूलो क्षति भएको छ । हिजो दिउँसोदेखिको अविरल वर्षाका कारण मेलम्ची नदीको बाढीले हेलम्बु गाउँपालिकाको किउलमा रहेको ट्राउट फर्म, रिसोर्टमा कार्यरत केहीलाई बगाएर बेपत्ता बनाएको तर सङख्या एकिन नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाकाअनुसार हेलम्बुदेखि मेलम्ची बजारक्षेत्र भन्दा तल्ला भेगसम्मका स्थानीय विस्थापित भएका छन् ।
। अविरल वर्षातले मुहानस्थलबाट नै उर्लिएर आएको मेलम्ची नदीको बाढी हेलम्बु पुगेपछि त्रसित स्थानीय र सुरक्षाकर्मी सुरक्षित स्थानमा सारिएको उहाँले बताउनु भयो ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानबाटै नदीको बहाब बेलुकी करिब ६ बजेबाट क्रमशः बढ्दै आएको थियो । मेलम्ची आयोजनाको काम गर्ने चिनियाँ क्याम्प ध्वस्त बनाएर उर्लिएको बाढीले क्रमशः वरपरका संरचना बगाउन थालेपछि हेलम्बुदेखि मेलम्ची भेगका बजार गाउँ क्षेत्रमा भागभाग चलेको थियो ।

 स्थानीयलाई नदी आसपासका क्षेत्रमा जान नदिन र सुरक्षाकर्मीले घेरा हालेर सावधानी अपनाइरहेका छन् । मेलम्ची नदी किनारक्षेत्रका घरमा बाढी पसेको छ । त्यहाँका परिवारलाई स्थानीय विद्यालयमा ल्याएर आश्रय दिइएको स्थानीयले बताएका छन् । त्यसैगरी भोटेकोसी नदीको सतह बढेपछि स्थानीय त्रसित भएका छन् ।

दुई युवा उद्धारको पर्खाइमा

अविरल वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटल रोजमा दुई युवाको उद्धार गर्न सेनाको हेलिकप्टर पठाइएको छ । होटलको छतसम्म बाढीले घेरेपछि ती युवाहरू फसेको तस्विरमा देखिन्छ । उहाँहरू रहेको घरको छतभन्दा केही मुनिसम्म पानी पुगेको छ भने उहाँहरुले उद्धारका लागि गुहार मागिरहनुभएको छ ।

तत्काल उद्धार गर्नको लागि सेनाको हेलिकप्टर पठाइएकोबताइएको छ । केही दिनयता परेको अविरल वर्षाले सिन्धुपाल्चोकलगायत देशभर बाढी र पहिरो जानेक्रम बढेको छ । यसबाट भएको जनधनको क्षति भने हालसम्म यकिन विवरण आइसकेको छैन ।