काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरवहादुर तामाङले यातायात श्रमिकहरुलाई कोरोना विरुद्धको खोपको प्राथमिकतामा राखिने बताउनु भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको तर्फबाट प्रस्तुत गरेको माग मंगलबार मन्त्रालयमा बुझेपछि मन्त्री तामाङले यातायात श्रमिकहरु अत्यावश्यक सेवा क्षेत्र अन्तर्गत पर्ने बताउदै उनीहरुका लागि खोप प्राथमिकतामा राखिने बताउनु भएको हो । मन्त्री तामाङले सडक सुरक्षा र स्वास्थ्यको बारेमा संगठन नेतृत्वसंग कुरा गर्दै सडक दुर्घटना पछिको जनस्वास्थ्यलाई ख्याल गर्दै दुर्घटनाग्रस्त क्षेत्रहरुको पहिचान गरी हाईवे ट्रमा सेन्टरहरुको व्यवस्थापनमा सरकारको चासो रहेको संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनु भयो ।

संगठनका अध्यक्ष राईले निषेधाज्ञा अवधिमै देशका अनुसार ११ लाख यातायात श्रमिकहरुलाई खोपको माग गरिएको बताउनु भयो । राईका अनुसार तत्काल ईन्धन ढुवानी गर्ने ट्याङकर चालक तथा सहचालकहरुलाई खोपको व्यवस्था गर्नु पर्ने बताउनु भयो ।
ज्ञापनपत्रमा श्रमिकहरुलाई खोपको व्यवस्था, कोरोना सङ्क्रमितहरुलाई निःशुल्क उपचार, मृतक श्रमिक परिवारलाई क्षतिपूर्ति र छोराछोरीहरुका लागि स्वास्थ्य र शिक्षाका लागि कोषको स्थापना, ईन्धन तथा अत्यावश्यक खाद्यान्न ढुवानी श्रमिकहरुलाई जोखिम भत्ताको माग गरिएको अध्यक्ष राईले बताउनु भयो ।

त्यस्तै सडक सुरक्षा र स्वास्थ्य अन्तर्गत सडक दुर्घटना पूर्व र सडक दुर्घटना पछि जनस्वास्थ्यको विषयमा सचेतना अभियान र दुर्घटनामा परेका जनताको तत्काल उपचारका लागि स्वास्थ्य केन्द्रहरुको माग ज्ञापनपत्रमा समेटिएका छन् ।