धरान । गोर्खा वेलफेयर ट्रष्ट नेपालले धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालनमा रहेको आाइशोलेसन सेन्टरलाई ९ लाख भन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । ।

धरान १९ स्थित हरियाली सामुदायिक भवनको आवास गृह परिसारमा एक कार्यक्रमको आयोजना गर्दै गोर्खा वेलफेयर ट्रष्ट नेपालले बुधबार ९ लाख २८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई हस्तान्तरण गर्नु भएको हो ।

एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख अफिसर पूर्णप्रसाद लिम्बुका अनुसार आइशोलेसन सेन्टरलाई ३ थान अक्सिजन कनेक्टरका साथै पल्स अक्सिमिटर २० थान र पीपीई सेट २ सय थान सहयोग प्रदान गरिएको छ । प्रमुख अफिसर लिम्बुले आवश्यक परेको खण्डमा आइशोलेसन सेन्टरलाई थप सहयोग गर्ने प्रतिवद्धता जनाउँदै प्रदेश एकको २२ स्थानमा गोर्खा वेल्फेयरले स्वास्थ्य सामग्री सहयोग गरिएको बताउनुभयो ।

मेयर तिलक राईले स्वास्थ्य सामग्री ग्रहण गर्दै गोर्खा वेल्फेयरको प्रशंसा गर्नुभयो । मेयर राईले गोर्खा भूतपूर्व आर्मीहरुको सेवा, आश्रीत परिवार र गोर्खा भूतपूर्वहरुको बसोबास रहेको क्षेत्रमा गोर्खा वेल्फेयरले विभिन्न मानवीय सेवाहरु गरिरहेको बताउनुभयो । धरान आफैमा गोर्खा भुपुहरुको अत्यन्तै बाक्लो बस्ती भएको बताउदै मेयर राईले भने, “गोर्खा वेल्फेयर ट्रष्टले विपदको बेलामा, खानेपानी, शिक्षा लगायत विभिन्न क्षेत्रहरुमा सहयोग गरिरहेको छ ।” धरान उपमहानगरपालिकालाई यसभन्दा अघि कोभिड १९ को पहिलो लहरमा पनि गोर्खा वेल्फेयरले सहयोग गरेको थियो । कोभिड १९ को दोस्रो लहरमा पनि अत्यन्तै महत्वपूर्ण स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै गोर्खा वेल्फेयर ट्रष्टलाई धन्यवाद व्यक्त गर्नुभयो ।

हरियाली आइशोलेसन सेन्टरमा खटिएकी स्वास्थ्यकर्मी दिपकला राईले सेन्टरमा १२ जना कोरोना संक्रमित विरामीहरु बसिरहेको जानुकारी दिनुभयो । उहाँले भन्नुभयो, “आइशोलेसन सेन्टरमा १४ जना संक्रमित बसेका थिए । २ जना ठीक भएर डिस्चार्ज भयो । अहिले १२ जना हुनुहुन्छ । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ ।”