पात्रहरू-
भुन्तुक, स्याण्डु, पुकुली, हबुल्ले (लठेब्रो), सुदिप रसाइली।

● कार्टुन- बिराज प्रधान, कदमतला,  सिलिगुड़ी ।

दृश्य विवरण - कुखुराको मासु पसलमा पसले [स्याण्डु खबरकागत पढ़्नमा व्यस्त ॊ देखिन्छ । मोटे न मोटे भुँड़े कर्मचारी कुखुरा काट्न भुत्ल्याउनमा व्यस्त देखिन्छ।  पसले मालिकको फोनको रिङ्टोन बज्छ ]।

स्याण्डु: हल्लो ! स्याण्डु स्पिकिङ्ग। भन पुकुली बैनी।

पुकुली: तपाईको मासु छ ?

स्याण्डु (छक्क पर्दै) : मेरो मासु ??

पुकुली (हाँस्दै)  यो स्याण्डु दाजुले जे पनि उल्टै  बुझ्दोरहेछ है ।

स्याण्डु अन्त तिमी एकाबिहानै तपाईको मासु भन्छ्यौ अनि ।

पुकुली तपाईको दोकानमा बिक्री गर्नु राखेको चिकन भनेको नि। लाटा।  मेरो डेलिभेरी गर्न सक्नुहुन्छ ?

स्याण्डु (अचम्म मान्दै) तिम्रो डेलिभेरी? मैले ? त्यो काम गाइनोको हो।  मेरो होइन यार ।

पुकुली (दिक्क मान्दै) उफ ! घरमा पठाइदिनु सक्नुहुन्छ ?

स्याण्डु स्यूर। स्यूर ।

पुकुली स्याण्डु दाज्यू कुखुरा ड्रेस्ड मात्रै  गरिदिनोस् अनि नकाटी सिङ्गै पठाइदिनोस् ल । घरमै काटकुट पार्छु।  लकडाउनले गर्दा नआएकी ।

स्याण्डु हस् ।  तिम्रो जो आज्ञा ।

भुन्तुक (अलिक परैबाट) न्याकेट कि कस्तो भनेर सोध्नोस् न ।

स्याण्डु (मोबाइल छोपेर) के भनेको क्रिकेट गधा ?

भुन्तुक भुत्ल्याएर कि नभुत्ल्याएकन भनेको नि ।

पुकुली ड्रेसिङ  गरेर ल स्याण्डु दाजु ।

भुन्तुक हुन्छ हुन्छ तातो पानीमा बुलुबुलु गरेर पठाइदिन्छु भनिदिनोस् न दा ।

पुकुली फ्रेस छ होइन ?

भुन्तुक कन्ये पोथी पनि फ्रेस नभएर कस्तो हुन्छ भन्नोस् ता ।

पुकुली (छक्क परेर) कन्ये ???????

स्याण्डु हजूर बैनी।पोल्ट्रीको कुखुरा कन्ये ता हुन्छ होइन? हुन्छ भुन्तुक आउँदैछ   ल । हस् हस्  (भुन्तुकलाई) पुकुली म्यामको घरमा एउटा चिकन पुऱ्याइदे ।

भुन्तुक (कुखुरा भुत्ल्याउँदै) कसकोमा भन्नुभो ?

स्याण्डु पुकुली म्यामकहाँ।

भुन्तुक घर कहाँ छ भन्नोस् ता ।

स्याण्डु   यहाँबाट स्ट्रेट जा...लभ मोड़।

भुन्तुक ओके लम मोड़ । त्यहाँबाट राइट लागेर जाँड़ मोड़ ।

स्याण्डु जाँड़ मोड़ ता छिट्टो चिन्छस् हई !

भुन्तुक दा । गोर्खाले जाँड़ मोड़ चिनेन भने यहाँ जन्मिनु नै व्यर्थ छ। (आकाशतर्फ हेर्दै) माथि पुग्ने बित्तिकै यमराजले गोर्खाहरूलाई जाँड़ मोड़ गइस् भनेर सोध्छ अरे ।

स्याण्डु हँ ! अन्त जाँड़ मोड़ गाको छैन भन्यो भने नि !

भुन्तुक जाँड़ मोड़ नजानेलाई दिन रात माँड़  खानु लाउँछ अरे ।

स्याण्डु लु भयो ।  तेरो गफमा लाग्यो भने आ ता सर्वनाश हुन्छ । लु जा गईहाल् । पुकुली म्याम फेरि रिसाउनु जान्दिनन् ।

भुन्तुक   ( सिङ्गै ड्रेस्ड कुखुरा झोलामा हाल्दै) मोड़ गएर कता जानुपर्ने ?
स्याण्डु त्यहाँबाट  चेप बाटोबाट देब्रे,  त्यसपछि दाहिने, त्यसपछि फेरि देब्रे ।  त्यहाँ एउटा पान दोकान छ...

भुन्तुक पान दोकानबाट कहाँ जानु ?

स्याण्डु त्यहाँबाट जहाँसुकै जानु। ( चूपो लागि बाइक चढ़ेर भुन्तुक प्रस्थान) ।

दृश्य परिवर्तन

[लठेब्रो हबुल्ले बाहिर बरण्डाका भित्ताहरू सफा गरिरहेको देखिन्छ । ]

पुकुली (भित्रबाट बाहिर आएर ) :  एई हबुल्ले !
हबुल्ले हदूल ।

पुकुली म नुहाउनु पसेँ बुझिस् ? एकजनाले कुखुराको मासु  लिएर आउँछ।   घरभित्र पस्नु नदेलास् ।  बाहिर बाहिरै  मासु थाप्नू।  मासु लिएर आउनेलाई छेउमा आउन नदेलास्। आउने बित्तिकै यो ह्याण्ड सेनेटाइजर हातमा हालिदिनू बुझिस् ? (ह्याण्ड सेनेटाइजरको बोतल  देखाउँदै)  यी यहाँ छ ह्याण्ड सेनेटाइजरको बोतल।  बुझिस् ?

हबुल्ले बुदे बुदे ।

पुकुली ह्याण्ड सेनेटाइजर भन् ता। कसरी भन्दोरहेछस् ?

हबुल्ले (टाउको कन्याउँदै) तेनतेन्तरताइतर ।

पुकुली (दोहोर्याउँदै) ह्याण्ड सेनेटाइजर ।

हबुल्ले तेनतेन्तरताइतर ।

पुकुली यल्ले बिर्सिन्छ होला हौ ।

हबुल्ले (हतार हतार) बिलतिदिनँ हौ बिलतिदिनँ ।

पुकुली हेरूँला तेसो भए ह्याण्ड सेनेटाइजर ह्याण्ड सेनेटाइजर भनी राख्।   बुझिस् ?

हबुल्ले बुदे । तेनतेन्तरताइतर ।  

[पुकुली भित्र प्रवेश गरेपछि हबुल्ले तेनतेन्तरताइतर भन्न छोड़ेर गीत गाउँदै  एयर ब्लोवर  मशिनले बरण्डा सफा गर्न थाल्छ - "दादिलिङको धाँकलीले  दिउतै  ध्याङ्लो ठोतयो/ बुली लादयो लमितातिल तलला तिलले बोतयो" (दार्जिलिङको झाँक्रीले दिउँसै ढ्याङ्ग्रो ठोक्यो/बूढ़ी लागिन् रमितातिर चल्ला चिलले बोक्यो)। भुन्तुक झोलामा मासु  लिएर उतर्फ आएको देखेर  हबुल्ले टाढ़ैबाट कराउँछ - मात्रै हो? (भुन्तुकले  टाउको हल्लाएर 'हो' भन्ने सङ्केत दिन्छ) - तुतै बत्तीसवटा तुतै बत। (भुन्तुक मासु दिन छेउमै आउँछ।हबुल्ले अत्तालिएर के गरूँ कसो गरूँ हुन्छ । भुन्तुक जति नजिक आउँछ  हबुल्ले तेति तर्किन खोज्छ। सेनिटाइजरको बोतल दिन बिर्सेर एयर ब्लोवर मशिनले नै भुन्तुकको जीउमा ताक्छ। एयर ब्लोवरबाट निक्षेप भएको हावाको वेगले  भुन्तुक उड़ेर प...र पुग्छ । कसो कसो गर्दा सिङ्गै ड्रेस्ड कुखुरा हबुल्लेतिर फ्याँकिदिन्छ। हबुल्ले  पर भाग्दै  एयर ब्लोवरको मुख  कुखुरापट्टि फर्काउँछ।कुखुरा ग्यास बेलुनजस्तो उड़्छ। कुखुरा उड़ेको देखेर हबुल्ले खुशी हुँदै- तुखलातो दुद्दी...तुखलातो दुद्दी... (गुड्डी) । नानदेभुतुन्दे (नाङ्गेभुथुङ्गे)। (कुखुरा तल खस्न खोज्दा  फेरि एयर ब्लोवरको मुख कुखौरापट्टि  फर्काउँछ। कुखुरा उडेको उड़ेकै हुन्छ। पुकुली बाथरूमबाट बाहिर निस्कन्छे। कुखुरा उड़ेको देखेर छक्क पर्छे। ]

पुकुली (चिच्याउँदै) हबुल्ले? के गरेको ??

हबुल्ले (कराएर) तुखलालाई तेनतेन्तरताइतर....(कुखुरा उड़ेको उड़ेकै देखिन्छ ।)

पुकुली (हातमा कुचो लिएर हबुल्लेतर्फ कुद्दै) तेरीमा शाला...तेरो सेनिटाइजर म निकाल्छु अब । खाने चिजलाई त्यसरी उड़ाउने  हो ????

सिलिगुड़ी (उत्तर बङ्गाल) भारत ।

[प्रकाशोन्मुख कमेडी ड्रामा सङ्ग्रह " लकडाउन कमेडी" बाट]।
[email protected]